कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना
काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।
मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले वर्षाको जोखिम बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार आज देशैभर बदली रही पहाडी भूभागका धेरै र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ।
विशेष गरी बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा ‘धेरै भारी’ र कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा ‘भारी’ वर्षाको सम्भावना छ।
हिमाली भेगमा भने हिमपातको समेत अनुमान गरिएको छ। यो क्रम राति पनि जारी रहनेछ।
भारी वर्षाका कारण बाढी, पहिरो, भू-क्षय र गेग्रान बहावको जोखिम रहेकाले नदी तटीय तथा पहिरोग्रस्त क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
प्रतिकूल मौसमका कारण सडक तथा हवाई यातायात, कृषि र दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले मौसमसम्बन्धी अद्यावधिक सूचनामा ध्यान दिन अनुरोध गरिएको छ।
साउन १८, २०८३ सोमबार ०७:२०:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।