मनसुन विपद् : २४ घण्टामा एक जनाको मृत्यु, २० जना घाइते

मनसुन विपद् : २४ घण्टामा एक जनाको मृत्यु, २० जना घाइते

काठमाडौं : मनसुनजन्य विपद्का कारण पछिल्ला २४ घण्टामा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए)का अनुसार शुक्रबार बिहान १० देखि शनिबार बिहान १० बजेसम्म देशका २५ जिल्लामा ३४ वटा विपद्का घटना भएका छन्। ती घटनामध्ये सर्पले डस्दा एक जनाको मृत्यु भएको हो। 

उक्त अवधिमा सर्पदंशका १४, आगलागीका ११, पहिरोका छ र जनावर आक्रमणका तीन घटना भएका छन्। ती घटनाबाट २७ लाख २५ हजार बराबरको अनुमानित क्षति भएको छ। साथै, दुई स्थानमा सडक अवरुद्ध भएको र १८ चौपायाको क्षति भएको छ।

यसैबीच, प्राधिकरणले  गत वैशाख १ देखि आज बिहानसम्म देशभर चार हजार ५३ वटा विपद्का घटना भएका,  ती घटनामा १९६ जनाको मृत्यु, चार जना बेपत्ता र एक हजार २९१ जना घाइते भएका जनाएको छ। विपद्बाट पाँच हजार १८८ परिवार प्रभावित भएका छन्।

साउन १७, २०८३ आइतबार १२:३८:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।