बाग्मतीमा सबैभन्दा बढी सवारी दुर्घटना २५-४० वर्षका चालकबाट

बाग्मतीमा सबैभन्दा बढी सवारी दुर्घटना २५-४० वर्षका चालकबाट

चितवन : बाग्मती प्रदेशमा सबैभन्दा बढी सवारी दुर्घटना २५ देखि ४० वर्ष उमेर समूहका चालकहरूको तीव्र गति र असावधानीका कारण भएको पाइएको छ।

कुल सवारी दुर्घटनामध्ये ५४ प्रतिशत दुर्घटना ती उमेर समूहका चालकका कारण हुने गरेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरको तथ्याङ्कले देखाएको हो। 

उपत्यकाबाहेक प्रदेशभित्र भएका एक हजार ९२४ दुर्घटनामध्ये ५४ प्रतिशत अर्थात् एक हजार ४२९ वटा दुर्घटना २५ देखि ४० वर्ष उमेर समूहका चालकले गराएका छन्।

यस्तै, २५ प्रतिशत अर्थात् ६७९ वटा दुर्घटना १६ देखि २५ वर्ष उमेर समूहका चालकले सवारी चलाउँदा भएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए। उनका अनुसार ४० वर्षमाथिका सवारी चालकले २५ प्रतिशत दुर्घटना गराएका छन्। युवा पुस्तामा सवारी तीव्र गतिमा हाँक्ने जोस बढ्दा दुर्घटना गराउने चालक युवा पुस्ताका बढी भएका हुन्।

ती दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या २५ वर्षभन्दा माथि उमेर समूहका धेरै रहेका छन्। सो उमेर समूहका २६७ जनाको मृत्यु भएको छ भने १६ देखि २५ वर्ष उमेर समूहका ५९, छदेखि १६ वर्ष उमेर समूहका सात र छ वर्षदेखि तलका उमेर समूहका सात जना रहेका छन्। घाइते हुनेको सङ्ख्या पनि सोही अनुपातमा रहेको उनले जानकारी दिए।

गत आर्थिक वर्षमा तीव्र गतिका कारण एक हजार ४१, चालकको लापरबाहीले २४०, यात्रुको गल्तीले १५४, मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा ११९ र यान्त्रिक गडबडीले १२१ वटा दुर्घटना भएका छन्। 

यस्तै, सडकको अवस्थाका कारण १०७ वटा  ‘ओभरटेक’ गर्दा ७२, मौसमको खराबीले चौपायाका कारण १०, ओभरलोड भएर आठ र अन्य कारणले ३८ वटा दुर्घटना भएको उनले जानकारी दिए। यस कार्यालयले काठमाडौं उपत्यकाबाहेक बाग्मती प्रदेशका १० जिल्ला हेर्दै आएको छ। 

साउन १६, २०८३ शनिबार १९:२०:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।