उपत्यकामा खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन निगमको टेकु कार्यालयबाट बिक्री सुरु
काठमाडौं : काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति सहज र पारदर्शी बनाउन नेपाल आयल निगमले टेकुस्थित आफ्नो कार्यालयबाटै ग्यास बिक्री-वितरण गर्ने भएको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि निगमले यो विशेष व्यवस्था लागू गरेको हो।
बजारमा कृत्रिम अभाव हुन नदिन र उपभोक्तालाई ग्यास सहज रूपमा उपलब्ध गराउन साउन १६ गतेदेखि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म टेकु कार्यालयबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्री गरिने निगमले शनिबार विज्ञप्तिमार्फत जनाएको छ।
निगमको कार्यालयबाट पनि नेपाल ग्यास, एचपी ग्यास, एभरेष्ट ग्यास, सगुन ग्यास तथा श्रीराम ग्यासका सिलिन्डर सम्बन्धित उद्योगमार्फत बिक्री–वितरण गर्ने व्यवस्था मिलाइएको निगमले जनाएको छ।
बजारमा कुनै पनि प्रकारको अभाव हुन नदिन सबै ग्यास उद्योगलाई पर्याप्त आपूर्ति सुनिश्चित गर्न तथा विक्रेतालाई घरायसी उपभोक्तालाई प्राथमिकतामा राखी खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बर अभिलेख राखेर व्यवस्थित रूपमा बिक्री–वितरण गर्न आग्रह गरिएको छ।
ग्यास नपाएको अवस्थामा कार्यालय समयभित्र निगमको हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गर्न उपभोक्तालाई आग्रह गरिएको छ।
साथै एलपी ग्यासको आयात र वितरण नियमित भइरहेकाले आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न तथा अनावश्यक मौज्दात नगर्न निगमले अनुरोध गरेको छ।
साउन १६, २०८३ शनिबार १२:२७:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।