चार प्रदेशका पहाडी क्षेत्रमा आज दिउँसो र राती भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

चार प्रदेशका पहाडी क्षेत्रमा आज दिउँसो र राती भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं : देशभर मनसुन सक्रिय रहँदा आज बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर मौसम बदली रहनेछ।

देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने र बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही पहाडी भेगमा भारी वर्षाको आकलन गरिएको छ।

यसैगरी, आज राति पनि देशैभर वर्षाको सम्भावना छ।

राति कोशी, बागमती र गण्डकी प्रदेशका सबैजसो क्षेत्रसहित मधेस, लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

भारी वर्षाका कारण नदीमा जलस्तर बढ्ने, पहाडमा पहिरो र गेग्रान बहावको जोखिम हुनुका साथै तराईमा डुबान हुन सक्ने सम्भावना छ।

यसबाट सडक तथा हवाई यातायातसँगै दैनिक जनजीवनसमेत प्रभावित हुन सक्ने भन्दै महाशाखाले यात्रा गर्दा र नदी तटीय क्षेत्रमा रहँदा आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई अपिल गरेको छ।

साउन १६, २०८३ शनिबार ०७:१३:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।