देशभर मनसुन सक्रिय, यी प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुन सक्रिय, यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। अहिले मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदरभन्दा उत्तरतर्फ सरेको छ।

हाल कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बादल लागेको अवस्था छ भने मधेस, बागमती र गण्डकीका तराई भूभागमा आंशिक बदली रहेको छ।

बागमती, कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी र बागमतीका हिमाली तथा पहाडी भूभाग, साथै कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

देशका हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपात हुन सक्छ। त्यसैगरी, पहाडी र तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने महाशाखाको बुलेटिनमा उल्लेख छ।

आज राति पनि देशभरको मौसम साधारणतया बदली नै रहनेछ। कोशी प्रदेशका पहाडी तथा तराई भूभाग र बागमती एवं गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको आकलन गरिएको छ।

यसबाहेक, देशका बाँकी हिमाली, पहाडी र तराईका थोरै स्थानमा राति पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

साउन १४, २०८३ बिहीबार ०७:१२:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।