सुनसरी घटनाबारे ९ राजनीतिक दलको संयुक्त अपिल, सामाजिक सद्भाव र शान्ति कायम राख्न आह्वान
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बुधबार बिहान बसेको सर्वदलीय बैठकले सातबुँदे वक्तव्य जारी गरेका छ।
बैठकमा सहभागी रास्वपासहित ९ दलले संयुक्त रुपमा एक विज्ञप्ति जारी गर्दै मुलुकमा सामाजिक सद्भाव, शान्ति र सहअस्तित्व कायम राख्न आम नागरिकहरूसँग अपिल गरेका छन्।
विज्ञप्तिमा सदियौँदेखि कायम रहेको सामाजिक सद्भाव र पारस्परिक भाइचारालाई खलबल्याउने कुनै पनि भ्रामक गतिविधि वा उत्तेजनामा नआउन सर्वसाधारणलाई आग्रह गरिएको छ।
"आवेग र मुठभेडले समस्याको समाधान नभई थप जटिलता मात्र निम्त्याउने यथार्थप्रति हामी सबै सचेत हुनु जरुरी छ," अपिलमा भनिएको छ।
असन्तुष्टि तथा मागहरूको समाधान शान्तिपूर्ण संवाद र सहमतिका माध्यमबाट मात्र सम्भव हुने भएकाले आफ्ना असन्तुष्टिहरू शान्तिपूर्ण रूपमा राख्न सम्बन्धित सबै पक्षलाई अनुरोध पनि गरेका छन्।
प्रदेश, जिल्ला र स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय बैठकहरू आयोजना गरी विश्वासको वातावरण निर्माण गर्न दलहरूका स्थानीय समितिलाई निर्देशित गरिएको छ।
नागरिकको जिउधनको रक्षा गर्नु राज्यको प्राथमिक दायित्व भएको स्मरण गराउँदै परिस्थिति सामान्य बनाउन, घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न र पीडितलाई उचित क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराइएको छ।
यस संयुक्त वक्तव्यमा रास्वपाका सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड', एमालेका महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका महासचिव आरेन राई, लोसपाका अध्यक्ष महन्थ ठाकुर, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष सीके राउत र जनता समाजवादी पार्टी जसपाका प्रकाश अधिकारीले हस्ताक्षर गरेका छन्।
सर्वदलीय बैठकको संयुक्त वक्तव्य तथा अपिल

साउन १३, २०८३ बुधबार १२:४८:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।