आज कोशी, बागमती र गण्डकीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना

आज कोशी, बागमती र गण्डकीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव कायमै छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा उत्तरतर्फ र पूर्वमा सरदर स्थानकै आसपासमा रहेको छ।

महाशाखाका अनुसार यतिबेला कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मधेस, बागमती र गण्डकीका तराई क्षेत्रमा आंशिक तथा अन्य प्रदेशमा सामान्य बदली छ।

आज दिउँसो देशभरको मौसम सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका धेरैजसो स्थान र तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।

विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा सुदूरपश्चिमका तराई क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको चेतावनी दिइएको छ। साथै, उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हिमपातको समेत सम्भावना छ।

राति पनि देशभरको मौसम सामान्यतया बदली नै रहनेछ। पहाडी र तराईका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा राति पनि भारी वर्षाको सम्भावना रहेको महाशाखाले बुलेटिनमार्फत जानकारी दिएको छ।

साउन १३, २०८३ बुधबार ०७:१७:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।