सुनसरी घटनामा गृहमन्त्रालयको लापरबाही भएको मिरज ढुंगानाको आरोप

सुनसरी घटनामा गृहमन्त्रालयको लापरबाही भएको मिरज ढुंगानाको आरोप

काठमाडौं : जेन-जी अभियन्ता मिरज ढुंगानाले देशमा शान्ति सुरक्षा कायम गर्न गृह प्रशासन असफल भएको आरोप लगाएका छन्।

जेन–जी अभियन्ताहरूको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकार र गृह मन्त्रालयको कार्यशैलीमाथि कडा प्रश्न उठाएका हुन्।

सम्बोधनका क्रममा ढुंगानाले सुनसरीको देवानगञ्जमा हालै भएको सामुदायिक द्वन्द्व र गोली प्रहारको घटनाप्रति चिन्ता व्यक्त गरे। समयमै सुरक्षा निकायले सतर्कता नअप्नाउँदा यस्ता दुखद घटना भएको उनको भनाइ थियो।

“गृह मन्त्रालयको मुख्य जिम्मेवारी नै शान्ति सुरक्षा कायम गर्नु हो,” ढुंगानाले प्रश्न गरे, “यस्तो अवस्था आउन नदिन किन समयमै ध्यान दिइएन?” 

उनले धार्मिक तथा सामाजिक सद्भाव बिगार्ने यस्ता घटना दोहोरिन नदिन राज्यलाई थप सचेत, संवेदनशील र जिम्मेवार  बन्न आग्रह गरे।

यस्तै, ढुंगानाले देशभित्रै रोजगारी र अवसर नहुँदा युवाहरूमा निराशा छाएको भन्दै उनले सरकारको कार्यशैलीमाथि प्रश्न उठाए। उनले पछिल्ला आत्महत्याका घटनालाई सामान्य रूपमा लिन नहुने भन्दै यसलाई सामाजिक र आर्थिक निराशाको संकेतका रूपमा बुझ्नुपर्ने बताए। ढुंगानाले सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसके आन्दोलनको मर्मविपरीत जाने अवस्था सिर्जना हुने र त्यसको विरोधमा आफूहरू उभिने चेतावनी समेत दिए।

साउन १२, २०८३ मंगलबार १७:५०:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।