अत्यावश्यक स्वास्थ्य सेवा तत्काल सुचारु गर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

अत्यावश्यक स्वास्थ्य सेवा तत्काल सुचारु गर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

काठमाडौं : वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र अस्पताल तोडफोडको विरोधमा देशभर आकस्मिक बाहेकका स्वास्थ्य सेवा ठप्प पारिएपछि राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

आयोगले डा. प्रमोद राममाथि भएको कुटपिट र अस्पतालमा भएको तोडफोडको घटनाको सत्यतथ्य छानबिन गरी संलग्न दोषीहरूलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिँदै अत्यावश्यक स्वास्थ्य सेवा तत्काल सुचारु गर्न आग्रह गरेको छ।

आयोगद्वारा जारी प्रेस विज्ञप्तिमा स्वास्थ्यकर्मीमाथि हुने कुटपिट र अस्पतालमा हुने तोडफोडजस्ता कार्य निन्दनीय भएको उल्लेख गर्दै यस्ता घटनाले कानुनी शासनमाथि चुनौती सिर्जना गरेको बताइएको छ।

आयोगका अनुसार विरोधका क्रममा चिकित्सक तथा स्वास्थ्यकर्मीले अत्यावश्यक स्वास्थ्य सेवा बन्द गर्दा बिरामी उपचारबाट वञ्चित भएका छन्। स्वास्थ्य सेवा जस्तो अत्यावश्यक सेवा बन्द हुनु नेपालको संविधानले सुनिश्चित गरेको स्वास्थ्यसम्बन्धी मौलिक हकको हनन भएको आयोगले जनाएको छ।

आयोगले घटनामा संलग्न दोषीहरूको निष्पक्ष छानबिन गरी कानुनी कारबाही गर्न, स्वास्थ्य सेवा अविलम्ब सञ्चालनमा ल्याउन तथा सम्बन्धित सबै पक्षलाई वार्ता र संवादमार्फत समस्या समाधान गर्न आग्रह गरेको छ।

वीरगञ्ज महानगरपालिका–२५ का ४५ वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएपछि उनका आफन्तहरूले चिकित्सकको लापरबाहीको आरोप लगाउँदै अस्पतालमा तोडफोड गर्नुका साथै ड्युटीमा रहेका डा. प्रमोद राममाथि आक्रमण गरेका थिए। चिकित्सकमाथि भएको कुटपिट तथा अस्पतालमा भएको तोडफोडको घटनाको विरोधमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन्।

साउन १२, २०८३ मंगलबार १६:४२:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।