कप्तानगञ्ज घटनाको विरोधमा पूर्व-पश्चिम राजमार्ग क्षेत्रमा प्रदर्शन

कप्तानगञ्ज घटनाको विरोधमा पूर्व-पश्चिम राजमार्ग क्षेत्रमा प्रदर्शन

काठमाडौं : सुनसरीको देवानगञ्ज गाउँपालिका- ३ कप्तानगञ्जमा प्रहरीको गोली लागि एक युवकको मृत्यु भएको घटनालाई लिएर मङ्गलबार पूर्व-पश्चिम राजमार्गको सुनसरी खण्डका विभिन्न स्थानमा प्रदर्शन भएको छ। 

आइतबार दुई समूहबीचको झडप नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएपछि त्यसको विरोधमा प्रदर्शनकारीले सडक अवरुद्ध गरेका हुन्।

प्रदर्शनकारीहरूले सुनसरीको पकलीदेखि कोशी ब्यारेजसम्मका विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरेपछि पूर्व-पश्चिम राजमार्गको यातायात प्रभावित भएको छ। राजमार्गमा तनाव बढेपछि स्थानीय प्रशासनले इटहरीबाट पश्चिम जाने सवारी साधनलाई रोकेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार राजमार्गका चोकहरूमा मानिस भेला भएर विरोध जनाइरहेका छन्। 

देवानगञ्ज क्षेत्रको अवस्था सामान्य बन्दै गए पनि सम्भावित जोखिमलाई मध्यनजर गरी स्थानीय प्रशासनले हरिनगरा, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रमा कर्फ्यु आदेश जारी राखेको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले निषेधित क्षेत्रमा कुनै पनि प्रकारका भेला वा प्रदर्शन नगर्न आग्रह गरेका छन्।

यसैबीच, घटनाको असर छिमेकी जिल्ला सिरहामा पनि देखिएको छ। सिरहाको गोलबजार र धनगढीमाई खण्डमा स्थानीयले करिब आधा घण्टा राजमार्ग अवरुद्ध गरी घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन्।

साउन १२, २०८३ मंगलबार १३:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।