ओलीको शिलालेखबारे मन्त्री लम्साल- ‘हामी भूतको एकदमै इज्जत गर्छौँ’

ओलीको शिलालेखबारे मन्त्री लम्साल- ‘हामी भूतको एकदमै इज्जत गर्छौँ’

काठमाडौं : पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग शिलान्यासको हराएको शिलालेख फेरि पुनर्स्थापना गर्ने बताएका छन्।

सोमबार सुरुङमार्गको औपचारिक उद्घाटनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री लम्सालले आफूहरू विगतलाई सम्मान गरेर अघि बढ्ने स्पष्ट पारेका हुन्।

सुरुङमार्ग उद्घाटन स्थलमा राखिएको नयाँ शिलालेखमा पूर्वाधारमन्त्री लम्सालको नाम मात्र अभिलिखित भएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नाम जानाजान हटाइएको भन्दै सरकारको आलोचना भएको थियो। वि.सं. २०७६ कात्तिक ४ गते ओलीले नै यो आयोजनाको शिलान्यास गरेका थिए।

ओलीको नाम हटाइएको भन्ने आरोपबारे पत्रकारले सोधेको प्रश्नमा मन्त्री लम्सालले भने, “हामीले भूतलाई एकदमै इज्जत गर्न सक्नुपर्छ। हामी एकदम इज्जत गर्छौँ। केही कुरा मिडियामा आएको थियो, तर त्यस्तो होइन।’

उनले शिलान्यासको शिलालेख कसरी हरायो भन्नेबारे प्रस्टीकरण दिँदै भने, “यो टनेल बनाउने बेलामा शिलालेख राखेको ठाउँमा नयाँ संरचना (स्ट्रक्चर) बनाउनुपर्ने भएपछि त्यसलाई सुरक्षित रूपमा सडक विभागमा राखिएको रहेछ। पछि जेन-जी आन्दोलनका क्रममा त्यो भवनमा आगलागी हुँदा उक्त शिलालेख हराएको रहेछ।”

आफूहरूले इतिहास र विगतका कामलाई सधैँ सम्मान गर्ने बताउँदै मन्त्री लम्सालले ओलीले शिलान्यास गरेको शिलालेखलाई छिट्टै त्यही स्थानमा पुनर्स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरे।

साउन ११, २०८३ सोमबार १२:२१:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।