यी स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पहाडी तथा हिमाली क्षेत्रमा सामान्य र तराईमा आंशिक बदली रहेको छ।
अहिले कोशी र बागमती प्रदेशका केही तथा गण्डकीका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो पहाडी र हिमाली क्षेत्रसहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईमा मौसम पूर्णतया बदली रहनेछ भने कोशी र मधेसका तराईमा आंशिक बदली हुनेछ। पहाडी क्षेत्रका धेरै र हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।
त्यस्तै, दिउँसो लुम्बिनी र सुदूरपश्चिमका तराईका धेरैजसो स्थान अनि कोशी, मधेस, बागमती र गण्डकीका तराईका थोरै स्थानमा मध्यम वर्षा हुनेछ। कर्णालीको पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानमा भने भारी वर्षाको आकलन गरिएको छ।
आज राति देशभरको मौसम सामान्यतया बदली रहनेछ। पहाडी र हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।
राति बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थानका साथै कोशी र मधेसका थोरै ठाउँमा मध्यम वर्षा हुनेछ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्र एवं लुम्बिनी र सुदूरपश्चिमका तराईका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
साउन ११, २०८३ सोमबार ०७:११:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।