यी स्थानमा भारी वर्षाको चेतावनी, सतर्कता अपनाउन आग्रह

यी स्थानमा भारी वर्षाको चेतावनी, सतर्कता अपनाउन आग्रह

काठमाडौं : देशभर मनसुन वायुको प्रभाव कायमै रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना देखिएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा सरदर स्थान आसपास रहेकाले मुलुकका विभिन्न भागमा वर्षा भइरहेको छ।

हाल देशभर साधारणतया बदली रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा अहिले मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

यस्तै, पहाडी भूभागका धेरै स्थान तथा तराईका केही क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ। हिमाली भूभागका केही स्थानमा वर्षासँगै हिमपातको समेत सम्भावना रहेको छ।

राति पनि देशभर बदलीको अवस्था रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

कोशी, मधेस र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुनेछ। साथै, उच्च हिमाली भेगमा वर्षा र हिमपातको क्रम जारी रहने महाशाखाको बुलेटिनमा उल्लेख छ।

भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भन्दै महाशाखाले सम्बन्धित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।

वर्षाका कारण दैनिक जनजीवनसहित कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात समेत प्रभावित हुन सक्ने देखिएकाले आवश्यक सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।

साउन १, २०८३ शुक्रबार ०७:२०:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।