देशभर मनसुनी वायुको प्रभाव : कहाँ-कहाँ हुँदैछ भारी वर्षा?
काठमाडौं : मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक सरेसँगै बिहीबार देशभर मनसुनी वायुको सक्रिय प्रभाव देखिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थान र मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ।
बिहीबार दिउँसो देशभर साधरणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। देशको पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई भूभागको थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
कोशी र बागमती प्रदेशको हिमाली भूभाग तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभाग र लुम्बिनी प्रदेशको तराई भूभागको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
राति देशभर साधरणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा तथा मधेश प्रदेश, कोशी र बागमती प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाल, पहाडी र तराई भूभागको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
असार ३२, २०८३ बिहीबार ०७:२६:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।