आजको मौसम : कोशी, बागमती र गण्डकी लगायतका प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले देशभर मौसममा बदली हुनुका साथै विभिन्न स्थानमा वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा कर्णाली प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका पहाडी र तराई भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभाग तथा मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। यस्तै, उच्च हिमाली क्षेत्रमा वर्षासँगै हिमपातको पनि सम्भावना छ।
आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। पहाडी र तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ।
रातिको समयमा कोशी प्रदेशको पहाडी भूभाग तथा कोशी र लुम्बिनी प्रदेशको तराई भूभागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।
भारी वर्षा र मेघगर्जनका कारण हुन सक्ने बाढी, पहिरो तथा गेग्रान बहावको जोखिमलाई मध्यनजर गर्दै ती क्षेत्रका बासिन्दाहरूलाई सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
वर्षाका कारण यातायात र दैनिक जनजीवनमा समेत आंशिक असर पर्न सक्ने देखिएको छ।
असार ३१, २०८३ बुधबार ०७:३६:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।