पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध
फाइल तस्बिर

बागलुङ : सोमबारदेखिको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। काठेखोला गाउँपालिका–६ इनारपानी क्षेत्रमा आज बिहान पहिरो खस्दा यातायात ठप्प भएको हो।

सडकमा पहिरोसँगै ठूला ढुङ्गाहरू खसेकाले तत्कालै बाटो खुलाउन कठिन भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए। हरी नायब उपरीक्षक त्वातीका अनुसार पहिरो पन्छाउने प्रयास भइरहे पनि ठूलो ढुङ्गा अडिएका कारण सडक सुचारु हुन केही समय लाग्ने देखिएको छ।

उनले भने्, “सडकमा ठूलो पहिरो खसेको छ, तत्कालै खुलाउन सकिने अवस्था छैन, यद्यपि खुलाउने प्रयास भइरहेको छ।”

लोकमार्ग अवरुद्ध भएपछि बागलुङबाट पोखरा र काठमाडौंका लागि छुटेका सवारीसाधनहरू बीच बाटोमै रोकिएका छन्। यस्तै, काठमाडौँदेखि बुर्तिबाङ, रोल्पा, रुकुम र डोल्पा लगायतका पश्चिम पहाडी क्षेत्रका लागि गुडेका यात्रुवाहक बसहरू बीच सडकमै अलपत्र पर्दा यात्रुहरू मर्कामा परेका छन्।

असार ३०, २०८३ मंगलबार १०:३३:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।