देशभर मनसुनी वर्षाको प्रभाव : कोशी, बागमती र गण्डकीमा 'भारी वर्षा' को सम्भावना
काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभावका कारण अधिकांश भू-भागमा वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ अर्थात् नेपालको तराई भू-भाग नजिक रहेकाले वर्षाको गतिविधि बढेको हो।
अहिले कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी र कर्णालीका थोरै स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराईका थोरै स्थान र लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। साथै, उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपात हुनसक्ने अनुमान गरिएको छ।
राति देशभर साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।
राति कोशी प्रदेशको तराई र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाको बुलेटिनमा उल्लेख छ।
भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयको जोखिम बढेको छ।
यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन तथा सडक यातायात समेत प्रभावित हुन सक्ने भएकाले ती क्षेत्रका सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन विभागले आग्रह गरेको छ।
असार ३०, २०८३ मंगलबार ०७:२७:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।