कोशी र बागमतीमा ‘अति भारी’ वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौं : जल तथा मौसम विज्ञान विभागले मुलुकका विभिन्न स्थानमा आगामी केही दिन भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आह्वान गरेको छ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तर सरेर नेपालको तराई भू-भाग नजिक रहेकाले देशभर मनसुनी वायुको प्रभाव तीव्र बनेको हो।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभरको मौसम सामान्यदेखि पूर्ण बदली छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानमा तथा मधेस र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मौसम पूर्ण बदली रहनेछ भने बाँकी दुई प्रदेशमा साधारणतया बदली रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा अन्य प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।
कोशी, बागमती र गण्डकीका पहाडी भू-भागका थोरै स्थान र तराईका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति कोशी र बागमती प्रदेशका पहाडी तथा तराई भू-भागका साथै मधेस प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको प्रक्षेपण गरिएको छ।
विशेषगरी कोशी र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा ‘अति भारी’ वर्षाको समेत सम्भावना रहेकाले ती क्षेत्रमा विशेष सावधानी अपनाउन आवश्यक छ । गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा पनि भारी वर्षाको सम्भावना छ।
मनसुन सक्रिय भई लगातारको वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो र भू-क्षयको जोखिम बढेको छ। विभागले यी प्राकृतिक प्रकोपबाट जोगिन आवश्यक तयारी र सावधानी अपनाउन आग्रह गरेको छ।
यस्तै, वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन र पर्वतारोहण प्रभावित हुन सक्नेछ। सडक तथा हवाई यातायातमा समेत अवरोध आउन सक्ने भएकाले यात्रा गर्दा अद्यावधिक मौसम जानकारी लिन सुझाव दिइएको छ।
असार २९, २०८३ सोमबार ०७:०७:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।