प्रश्न नउठ्ने गरी काम गर्दा समय लाग्छ, सुकुम्बासीको दीगो समाधान गर्छौं : भूमि व्यवस्थामन्त्री रावल

प्रश्न नउठ्ने गरी काम गर्दा समय लाग्छ, सुकुम्बासीको दीगो समाधान गर्छौं : भूमि व्यवस्थामन्त्री रावल

काठमाडौं : भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले आवश्यक कानुनी र प्राविधिक प्रक्रिया पूरा गरेर पुस्तौंसम्म कसैले औँला ठड्याउन नसक्ने गरी सुकुमबासीलाई लालपुर्जा वितरण गरिने बताएकी छन्।

भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा रहेका सुकुमबासीहरूको अवस्था अवलोकन तथा उनीहरूसँगको छलफलका क्रममा मन्त्री रावलले सुकुमबासी व्यवस्थापनका लागि केही समय लाग्ने उल्लेख गर्दै सरकार सुकुमबासी समस्याको दीर्घकालीन समाधान गर्न प्रतिबद्ध रहेको स्पष्ट पारीन्।

मन्त्री रावलले भनिन्, "प्रश्न नउठ्ने गरी काम गर्न समय लाग्छ। त्यही भएर यति ग्यारेन्टी गर्छु सुकुमबासीको हकमा नेपाल सरकारले जति सक्दो चाँडै। अझ होल्डिङ सेन्टरमा कामहरू सुरू भइसकेको छ।"

उनले सुकुमबासीका नाममा कसैलाई पनि राजनीतिक नगर्न आग्रह गर्दै उनले थपिन्, "अब यति दिन, यतिमा भन्दिनँ, किनभने जमिनमा पनि समस्या आउन सक्छ। सुकुमबासीको पहिचान मात्रै होइन। जग्गा पनि पहिचान गर्नुपर्यो। त्यसैले जटिल र संवेदनशील विषय भएकाले जति सक्दो चाँडो, सुकुमबासीको हकमा लालपुर्जा पाउनुहुन्छ।"

कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ आश्रय लिइरहेका सुकुमबासीहरूलाई भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको थियो। 

स्थानान्तरण गरिएका नागरिकहरूको अवस्था बुझ्न आज गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोख्रेल, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादी, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव सहभागी भएका थिए।

निरीक्षणका क्रममा मन्त्रीहरूले सुकुमबासीहरूसँग प्रत्यक्ष छलफल गर्दै उनीहरूको तत्कालीन राहत र दीर्घकालीन व्यवस्थापनका लागि सरकारले गरिरहेको तयारीबारे जानकारी गराएका छन्।  

असार २८, २०८३ आइतबार १७:२१:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।