त्रिभुवन विमानस्थलमा कार्यक्रम गर्न खोजेपछि दुर्गा प्रसाईँलाई प्रहरीले पुर्यायो घर
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै समसामयिक विषयमा सम्बोधन गर्ने तयारी गरेपछि प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई नियन्त्रणमा लिएर घर पुर्याएको छ।
निषेधित क्षेत्रमा सम्बोधन गर्ने तयारी गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर भक्तपुरस्थित निवास पुर्याएको हो।
आइतबार झापाबाट काठमाडौं ओर्लिएलगत्तै प्रसाईँले सुकुम्बासी समस्या, आत्मदाहका घटना, गरिब तथा पीडित नागरिकको अवस्था लगायतका विषयमा विमानस्थलमै सम्बोधन गर्ने कार्यक्रम राखेका थिए। तर, उनी विमानस्थलमा आइपुग्नासाथ काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो।
प्रहरीले नियन्त्रणमा लिएलगत्तै प्रसाईँलाई आफ्नै सवारीसाधनमार्फत भक्तपुरस्थित उनको निवासमा पुर्याएर छाडेको छ।
विमानस्थलजस्तो संवेदनशील र निषेधित क्षेत्रमा कुनै पनि प्रकारका प्रदर्शन वा विरोध कार्यक्रम गर्न नपाइने भएकाले सुरक्षा र व्यवस्थापनका लागि मात्रै यो कदम चालिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी भट्टराईले बताए।
"हामीले पक्राउ गरेको होइनौँ। उहाँले विमानस्थलजस्तो निषेधित क्षेत्रमा विरोधको कार्यक्रम गर्न लाग्नुभएको थियो। त्यसैले सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै हामीले उहाँलाई नियन्त्रणमा लिएर घर छोडेर आएका हौँ। यो केवल सहजीकरण मात्र हो," एसपी भट्टराईले भने।
असार २८, २०८३ आइतबार १४:२८:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।