मल कुर्दाकुर्दै रोपाइँ ढिलो भएपछि किसान सोध्छन्- सरकार, मल खोइ?
धनगढी : असारको अन्तिम सातासम्म सहकारीका ढोका धाउँदा पनि डिएपी मल नपाएपछि सुदूरपश्चिमका किसान यस वर्ष मलविनै धान रोप्न बाध्य थालेका छन्। लामो समयसम्म मलको नपाउँदा रोपाइँ ढिलो हुन थालेपछि विकल्पहीन बनेका किसान अन्ततः मलविना नै रोपाई सुरु गर्न पर्यो।
धनगढी उपमहानगरपालिका वडा नम्बर-३ का मनबहादुर चौधरी असार तेस्रो सातासम्म पनि रासायनिक मलको प्रतीक्षामा बसे। मलका लागि यहाँका हरेक सहकारी धाइरहे, तर कतै पनि मल पाइने अवस्था नभएपछि चौधरी मलविना नै रोपाई सुरु गरे।
"मलको प्रतीक्षामा रोपाई नै ढिलो हुन थाल्यो," चौधरीले भने, "अहिले रोपाई सुरु गरेको छु, मल पाएको छैन।" धान रोपाई सकिने समयसम्म पनि यस पटक डिएपि मल प्राप्त हुन नसकेको मानबहादुरको दुखेसो छ।
उनी जस्तै सुदूरपश्चिममा रासायनिक मलका लागि भौँतारिने किसानको संख्या उच्च छ। कैलाली, कञ्चनपुरका धेरै किसानले यस पटक रासायनिक मल विना नै रोपाई गर्नुपरेको छ।
सरकारी अनुदान प्राप्त रासायनिक मल विक्रेता कृषि सामाग्री केन्द्र लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड धनगढीका अनुसार यस वर्ष गत वर्षको भन्दा पनि न्यून रासायनिक मल उपलब्ध भएको छ। जसका कारण रोपाइँमा मलको अभाव सिर्जना भयो।
कृषि सामाग्री केन्द्र लिमिटेड सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका प्रादेशिक प्रबन्धक नवलसिंह बोगटीले भने, "यस वर्ष विगतको भन्दा पनि कम मल आयात हुँदा किसानले मल प्राप्त गर्न नसकेको यथार्थ हो, आउँदै नआएको भने हैन, अहिले पनि जेनतेन वितरण भइरहेको छ।"
बोगटीका अनुसार यस वर्ष फागुन देखि सुदूरपश्चिममा डिएपि मल आयात हुन सकेको छैन। "फागुन पछि डिएपि उपलब्ध भएको छैन," बोगटीले भने, "भएको मौज्दात डिएपि थोरै-थोरै गरेर सहकारीलाई वितरण वितरण गरिरहेका छौं, तर त्यो पर्याप्त हुन सकेको छैन।"
प्रादेशिक प्रबन्धक बोगटीका अनुसार गत वर्षको साउन देखि फागुन सम्म सुदूरपश्चिम प्रदेशमा १५ हजार ३ सय २७ मेट युरिया, ८ हजार ३ सय ८० मेट्रिकटन डिएपि र ८ सय १६ मेट्रिकटन पोटास बिक्री वितरण गरिएको थियो।
हाल ३ सय ३० मेट्रिकटन युरिया, ३ सय ६ मेट्रिकटन डिएपि र १ सय २९ मेट्रिकटन युरिया मौज्दात रहेको छ। बिक्री भएको डिएपि र युरिया मध्ये अधिकांश हिउँदे बालिका लागि प्रयोग भइसहेका कारण धानका लागि अपुग भएको उनले जानकारी दिए।
सुदूरपश्चिममा धान खेतीका लागि मात्रै कम्तीमा ८ हजार हजार मेट्रिकटन डिएपि आवश्यक पर्ने गर्दछ। यस वर्ष अमेरिका र इरानविच भएको युद्धका कारण पनि समयमै रासायनिक मल आयात हुन समस्या सिर्जना भएको उनको भनाई छ।
त्यसैगरी साल्ट ट्रेडिङ कर्पोरेसन सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका प्रमुख तेजबहादुर कुँवरले पनि यस वर्ष रासायनिक मल अभाव अझै बढी रहेको बताए। कुँवरले पनि अमेरिका-इरान युद्धेको प्रभावका कारण यस पटक रासायनिक मल अभाव हुने अवस्था आएको बताए।
"आउँदै नआएको भन्ने पनि हैन," उनले भने, "तर तुलनात्मक रूपमा केही कम मल आएको छ, यसले कृषकलाई धान रोपाइँका वेला समस्या भएको छ।" कुँवरका अनुसार गत साउन देखि हाल सम्म ५ हजार ७१ दशमलव ६० मेट्रिकटन युरिया, ५ हजार ७ सय ८१ मेट्रिकटन डिएपि र २ सय ६४ मेट्रिकटन पोटास भित्रिएको छ।
त्यसमध्ये असार २६ गते सम्म ५ हजार ६१ दशमलव २० मेट्रिकटन युरिया, ५ हजार ६ सय ९० दशमलव २० प्रतिशत डिएपि र ५ सय ४ दशमलव १० मेट्रिकटन पोटास बिक्री भइसकेको कुवरको भनाई छ।
उनका अनुसार हाल साल्टसँग ५८ दशमलव ८५ मेट्रिकटन यूरिया, ९१ दशमलव ७० मेट्रिकटन डिएपि मौज्दात रहेको छ। बाटोको अवरोध र ढुवानीमा भएको समस्याका कारण पनि यस पटक डिएपि मल अभाव भएको उनले बताए।
हाल भैरहवामा रहेको पुरानो स्टकबाट ५ सय मेट्रिटन थप मल उपलब्ध भएको र सो मल सहकारी मार्फत कृषकलाई वितरण गर्ने कार्य भइरहेको उनले बताए।
यूरिया मलको अभाव नहुने दाबी
सुदूरपश्चिममा यस वर्ष धान रोप्दा डिएपि मलको अभाव झेलेका कृषकले यूरिया मल सहजै पाइने दाबी गरिएको छ। सामान्यतया धान रोपेको २५ देखि एक महिना भित्र कृषकले धानमा यूरिया मल छर्ने गर्दछन्।
जसअनुसार अबको एक साता पछि यहाँका कृषकलाई यूरिया मल आवश्यक पर्ने छ। सो समय सम्म यूरिया मलको मल भित्रिसक्ने मल वितरक संस्थाले जनाएका छन्।
कृषि सामग्री केन्द्र लिमिटेड सुदूरपश्चिम प्रदेशका प्रादेशिक प्रबन्धक नवलसिंह बोगटीले साउन २-३ गते भित्र सुदूरपश्चिममा यूरिया पुग्ने जानकारी आफूले पाएको बताए।
"३ सय ३० मेट्रिकटन यूरिया अहिले पनि हामीसँग मौज्दात रहेको छ," बोगटीले भने, "धेरै किसानले डिएपीसँगै यूरिया मल लागि पनि सकेका छन्, आगामी साउन २-३ गते थप युरिया मल यहाँ पुग्ने जानकारी प्राप्त भएको छ, त्यसैले डिएपि जस्तो अभाव यूरियामा हुने छैन।"
साल्ट ट्रेडिङ पर्कोरेसन सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका प्रमुख तेजबहादुर कुँवरले पनि यूरियामा डिएपि जस्तो अभाव नहुने बताएका छन्। धेरै कृषकले यस अघि नै धानका लागि चाहिने यूरिया मल लगेर भण्डारण गरिसकेका कारण पनि समस्या नहुने उनको दाबी छ।
असार २८, २०८३ आइतबार १४:०६:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।