दलहरूप्रति बढ्दो वितृष्णा चिन्ताजनक, स्थिति सुधार्ने मुख्य दायित्व सरकारकै : पूर्वअर्थमन्त्री खनाल
काठमाडौं : पूर्वअर्थमन्त्री एवं अर्थविद् रामेश्वर खनालले देशको वर्तमान राजनीतिक अवस्था र दलहरूप्रति जनतामा बढ्दै गएको चरम निराशाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
शनिबार सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै पूर्वअर्थमन्त्री खनालले राजनीतिक नेतृत्व र सरकारको कार्यशैलीका कारण नागरिकमा 'कोही पनि ठीक छैनन्' भन्ने नकारात्मक भाष्य निर्माण हुनु मुलुकका लागि हितकर नभएको बताए।
खनाल लेख्छन्, "जे भइरहेको छ, सबै ठीक भएको छैन। उनीहरू खराब थिए, यी पनि खराबै रहेछन्, कुनै पार्टी ठीक छैनन् भन्ने मत बढ्दै जानु कदापि राम्रो होइन।"
उनले वर्तमान निराशाजनक स्थितिलाई सुधार्ने पहिलो र प्राथमिक दायित्व वर्तमान सरकारकै भएको स्पष्ट पारे। यद्यपि, वर्तमान सरकारका कतिपय मन्त्रीहरूको कार्यशैली र व्यवहार नागरिकमुखी हुनुको साटो अहङ्कारी देखिएको भन्दै उनले असन्तुष्टि पोखेका छन्।
"स्थिति सुधार्ने प्राथमिक दायित्व सत्ताकै हो। तर केही मन्त्रीमा विनयशीलता फिटिक्कै देखिएन," खनालले लेखेका छन्।
असार २७, २०८३ शनिबार १५:४९:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।