कृषि सामग्रीमा कालोबजारी र कृत्रिम अभाव गराए तत्काल कारबाही गरिने, मन्त्रालयको हटलाइनमा उजुरी गर्न मन्त्री चौधरीको आग्रह
चितवन : कृषि क्षेत्रमा कालोबजारी गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने वा मूल्यवृद्धि गर्नेलाई कानुनबमोजिम कडा कारबाही गरिने कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चेतावनी दिएकी छन् ।
चितवनका विभिन्न स्थानमा कृषि क्षेत्रको छड्के अनुगमन तथा किसानहरूसँगको संवादका क्रममा उनले यस्तो चेतावनी दिएकी हुन्।
मन्त्री चौधरीले बाली लगाउने मुख्य समयमा किसानले मल, बीउ र विषादी जस्ता अत्यावश्यक सामग्री सहजै पाए/नपाएको बुझ्न स्थलगत निरीक्षण गरेकी थिइन्।
बजारमा कृषि सामग्री लुकाउने, कृत्रिम अभाव देखाउने वा बढी मूल्य असुल्ने गरेको पाइएमा तत्काल मन्त्रालयको हटलाइन नम्बरमा सम्पर्क गर्न मन्त्री चौधरीले किसान र उपभोक्ताहरूलाई आग्रह गरेकी छन्।
किसानको हितविपरीत काम गर्ने जोसुकैलाई कानुनबमोजिम कडा कारबाही गरिने र यस्ता गतिविधिमा सरकारले 'शून्य सहनशीलता'को नीति अपनाउने उनले स्पष्ट पारिन् उजुरी प्राप्त हुनासाथ सम्बन्धित निकाय परिचालन गरी तत्काल कारबाही गरिने प्रतिबद्धता उनको छ।
चितवनका विभिन्न पालिका तथा खेतबारीमै पुगेर मन्त्री चौधरीले रोपाइँको अवस्था, मल-बीउको उपलब्धता, उत्पादन लागत र सिँचाइबारे किसानहरूसँग प्रत्यक्ष संवाद गरेकी थिइन्। किसानका समस्या सुनेलगत्तै उनले सम्बन्धित सरकारी अधिकारीहरूलाई टेलिफोनमार्फत ती समस्या तत्काल समाधान गर्न निर्देशन समेत दिइन्।
मन्त्री चौधरीले कृषि उत्पादन बढाउन किसानलाई समयमै आवश्यक कृषि सामग्री उपलब्ध गराउने, कालोबजारी नियन्त्रण गर्ने र कृषि क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताइन्।
असार २७, २०८३ शनिबार १४:३०:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।