आजको मौसम : देशैभरि बदली, धेरै ठाउँमा वर्षा र केही स्थानमा भारी वर्षाको सम्भावना

आजको मौसम : देशैभरि बदली, धेरै ठाउँमा वर्षा र केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं : अहिले नेपालमा मनसुनको प्रभावका कारण देशभरि नै मौसम बदली भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना छ।

आज दिउँसो देशभरि नै बादल लाग्नेछ। पहाडी भेगका धेरै ठाउँमा र तराईका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। हिमाली क्षेत्रमा भने वर्षासँगै हिमपात पनि हुन सक्छ।

विशेषगरी कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भारी वर्षा हुनसक्ने मौसमविद्ले बताएका छन्।

राति पनि देशभरि बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ।

यस्तै, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा पनि वर्षा हुनेछ। रातिको समयमा पनि गण्डकी, लुम्बिनी र कोशी प्रदेशका केही स्थानमा ठूलो पानी पर्न सक्ने देखिएको छ।

धेरै ठाउँमा पानी पर्ने र केही ठाउँमा भारी वर्षा समेत हुने भएकाले बाढी, पहिरो र डुबानबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैलाई अनुरोध गरेको छ।

असार २७, २०८३ शनिबार ०७:१७:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।