संसदमा आवाज उठेपछि ठोरीमा भारतीय गाडीलाई 'अस्थायी पास' दिन सुरु
काठमाडौं : पर्साको प्रमुख पर्यटकीय क्षेत्र ठोरीमा भारतीय सवारीसाधनलाई प्रवेशमा रोक लगाइएको विषय संसदमा उठेपछि तत्कालका लागि अस्थायी समाधान निकालिएको छ।
असार २२ गतेको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसकी सांसद सीता थपलियाले सो विषय उठाए लगत्तै सरकारले ठोरी छोटी भन्सार कार्यालयमा कर्मचारी खटाएर भारतीय सवारीसाधनका लागि निःशुल्क ‘अस्थायी प्रवेश पास’ वितरण सुरु गरेको हो।
थपलियाले बन्द अवस्थामा रहेको छोटी भन्सारमा तत्काल कर्मचारी खटाएर पर्यटकका गाडीलाई वैधानिक रूपमै आउने वातावरण मिलाउन सरकारको ध्यानाकर्षण गराएकी थिइन्। संसदमा आवाज उठेको भोलिपल्टै असार २३ गतेदेखि वीरगन्ज भन्सार कार्यालयले ठोरी छोटी भन्सार कार्यालयमा कर्मचारी खटाएर भारतीय गाडीलाई 'अस्थायी पास' वितरण गर्न सुरु गरेको हो।
वीरगन्ज भन्सार कार्यालयका भन्सार अधिकृतसमेत रहेका सूचना अधिकारी उदयसिंह विष्टले ठोरी छोटी भन्सारमा एक जना सुब्बा तहका कर्मचारी र अर्का एक जना कार्यालय सहयोगी गरी दुई जना कर्मचारी खटाइएको जानकारी दिए।
‘ठोरीको छोटी भन्सारमा सुब्बा र कार्यालय सहयोगी गरी तत्कालका लागि दुई जना कर्मचारी खटाइएको छ, त्यहीबाट भारतीय सवारीसाधनलाई निःशुल्क रूपमा नै अस्थायी पास उपलब्ध गराइने व्यवस्था भएको छ,’ भन्सार अधिकृत विष्टले भने।
उनका अनुसार ठोरीको छोटी भन्सार कार्यालयबाट नै भारतीय सवारीसाधनका लागि अस्थायी प्रवेश पास उपलब्ध गराउन सुरु गरिएको छ। पास वाहक सवारीसाधन ठोरी क्षेत्रमा मात्र सञ्चालन हुन सक्ने छन्।
‘हालका लागि ठोरी क्षेत्रमा मात्र सञ्चालन हुन पाउने गरेर पास दिइएको छ, बाँकी विषयमा मन्त्रालयबाट केही निर्णय होला, हामीले पत्र पठाएर मन्त्रालयमा जानकारी गराइसकेका छौं,’ विष्टले अगाडि भने।
पछिल्लो समय ठोरी मधेस प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। ठोरीमा दर्जनौँ होटेल तथा रिसोर्टहरु भारतीय पर्यटकलाई लक्षित गर्दै सञ्चालनमा ल्याइएको छ भने सयौँ व्यक्तिले स्थानीय स्तरमा नै रोजगारी पाएका छन्।
ठोरीमा अहिले दैनिक दुई सय भन्दा बढी निजी भारतीय सवारीसाधन मार्फत पर्यटकहरू आउने गरेका छन् भने पछिल्लो समय यहाँको पर्यटन व्यवसाय चलायमान हुँदै गइरहेको छ। तर भारतीय सवारीसाधन आवागमनमा अवरोध हुँदा यहाँको पर्यटकीय गतिविधि ठप्प बनेको थियो।
असार १९ गतेदेखि सशस्त्र प्रहरीले 'माथिको आदेश' भन्दै भारतीय सवारीसाधनलाई नेपाल छिर्न रोक लगाएपछि ठोरीको पर्यटन व्यवसाय घटेको थियो। स्थानीय व्यवसायीहरूले आन्दोलन गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत बुझाएका थिए।
असार २६, २०८३ शुक्रबार १०:३७:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।