प्रेमप्रसादको आत्मदाहमा राज्य खोज्ने बालेनले गणेशले आफैँलाई आगो लगाउँदा अब कसलाई दोष देलान्?

प्रेमप्रसादको आत्मदाहमा राज्य खोज्ने बालेनले गणेशले आफैँलाई आगो लगाउँदा अब कसलाई दोष देलान्?

काठमाडौं : २०७९ माघ १० गते व्यवसायमा आएका संकट र उल्झनका कारण संसद् भवन नयाँ बानेश्वर अगाडि आफैँले पेट्रोल छर्किएर प्रेम प्रसाद आचार्यले आत्मदाह प्रयास गर्दै आफैँलाई आगो लगाएर गम्भीर घाइते भए। गम्भीर रहेका उनको उपचारकोक्रममा निधन भयो।

आत्मदाह अगाडि उनले लेखेको नोटमा उद्यम गर्दा पाएको हन्डर र कृषिप्रति अनुदार सरकारी नीतिबाट आजित भएर उनले संसद् भवन अगाडि आत्मदाह गरेको देखियो। काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र शाहले घटनापछि सामाजिक सञ्जालमा निकै भावुक पोस्ट गरे।

उनले लामो भावना पोख्दै लेखेका थिए “एकजना नागरिक संसद् भवनको अगाडि आफूमाथि पेट्रोल खन्याएर आत्मदाह गर्छन्। त्यो आत्मदाहका धेरै कारण र धेरै संकेतहरु होलान् तर सबै भन्दा ठुलो कारण राज्य हो। र, सबै भन्दा भयानक संकेत राज्यको चरम असफलताको हो।”

उनले “उनको व्यवसायमा, उनको निराशामा, उनको सहयोगको याचनामा, उनको सुरक्षामा, उनको उद्धारमा, उनले भोगेको हरेक चरणमा राज्य असफल भएको छ। राज्यका हरेक तप्का, निकाय र अंगहरु असफल भएका छन्” लेखेका थिए।

त्यो बेलामा प्रधानमन्त्री थिए पुष्पकमल दाहाल प्रचण्ड।

२०८३ असार २५ गते उस्तै शैलीमा एक २५ वर्षीय युवा गणेश नेपालीले आफैँमाथि पेट्रोल खन्याएर आगो लगाउँदा गम्भीर घाइते भए। गम्भीर अवस्थामा वीर अस्पतालको आइसियुमा उपचाररत छन् उनी। राहदानी विभाग अगाडि आफैँलाई आगो लगाउनुको कारण महानगर प्रहरीको व्यवहार रहेको उनको दाइ मदनका अनुसार आइसियुमा लैजानु अगाडि गणेशले ‘नगर प्रहरीका कारण यस्तो भयो’ भनेका थिए।

अहिले प्रधानमन्त्री छन् वालेन्द्र शाह।

OOO

जुन समयमा प्रेम प्रसादले आत्मदाह गरेका थिए त्यसमा सरकारको नेतृत्व गरिरहेकाहरू प्रत्यक्ष रूपमा संलग्न थिएनन्। तर उनलाई आत्मदाहको चरणसम्म पुर्याउन सरकारी नीतिहरू कारक देखिएका थिए।

उनले लेखेको नोट अनुसार वैदेशिक रोजगारीबाट फर्किएर आफ्नै उद्योग चलाउँदा पाएको हन्डर र लागेको ऋणले उनी आजित भएर यती निर्मम निर्णयमा पुगेका थिए। उद्योग सञ्चालनका क्रममा सरकारको अव्यवहारिक भिसिटिएस प्रणाली र बाटोमा प्रहरीको रकम असुलीबाट हैरान भएको देखियो।

४ पटकसम्म प्रदेश सरकारमा अनुदानका लागि आवेदन दिए पनि राजनीतिक पहुँच, नातावाद र घुसको कारण कहिल्यै अनुदान पाएनन्। झन्झटिलो र तेहेरो कर प्रणालीका कारण ग्रामीण उद्योग धान्न नसक्ने अवस्थामा पुग्यो।

त्यसमा उनको उत्पादनहरू जसले लिए उनीहरूले असल व्यवहार गरेनन्। समयमा पैसा पनि दिएनन्। चौतर्फी ठगी, फसेको लगानी र लगातारको ऋणको किस्ता एवं ब्याज तिर्न नसक्दा उनी गम्भीर डिप्रेसनको सिकार भए।

समाजको लाञ्छना र परिवारको दायित्वबिच पिसिएका उनले ऋणकै कारण आफ्नो सम्पूर्ण सम्पत्ति गुमाउनुपरेपछि जीवनबाट थाकेर आत्महत्याको बाटो रोज्ने स्थितिमा पुगेको उल्लेख गरेका थिए।

प्रेमप्रसादको घटनापछि बालेनले फेसबुकमा लेखेको भावुक सन्देश।सायद उनको नोट पढेर हुनसक्छ वालेन्द्र थप भावुक भएर लेखे ‘ एकैपल्ट यति धेरै कुराहरू गलत बाटोमा लागेर एकैपल्ट असफल हुँदा प्रेमप्रसाद आचार्यले त्यसको विद्रोह गरेका हुन्। त्यो विद्रोह हाम्रो समयको पछिल्लो सबैभन्दा विस्मयकारी घटना हो। कुनै पनि अर्को व्यक्तिले प्रेमप्रसाद आचार्यको जस्तो नियति भोग्न नपरोस्।”

यसका लागि महानगरले सिप सिक्ने र ती सिपहरूको जीवनस्तर वृद्धिमा प्रयोग हुने संरचनाहरूको निर्माण गर्नेमा असाध्यै संवेदनशील भएर काम गरिरहेको, आचार्यका मागहरूमध्ये काठमाडौं महानगरको क्षेत्राधिकारमा पर्ने कामहरू पनि भइरहेको भन्दै नागरिकतहदेखि संघीय सरकारसम्म सबैले आफ्नो भूमिकाबाट कठोर भई निभाउन अपिल गर्दै लेखेका थिए “सबैले नियमको पालना गरौँ। सबैले नियमभित्र रहेर व्यवहार गरौँ। फेरि पनि प्रेमप्रसाद आचार्यप्रति हार्दिक श्रद्धाञ्जली छ।”

त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार दिउँसो मुगु सोरु गाउँपालिका–१ स्थायी घर भई अहिले भक्तपुर बस्ने गणेश कुन कारण आफैँलाई आगो लगाउने चरणमा पुगे भन्ने प्रस्ट खुलेको छैन।

वीर अस्पतालका प्रमुख प्लास्टिक सर्जन प्रा. डा. पीयूष दाहालका अनुसार गणेशको शरीरको ६० प्रतिशत बढी भाग जलेकाले उनको अवस्था गम्भीर छ। उनको टाउको, छाती र हातजस्ता संवेदनशील अंगहरू जलेका छन्। वीर अस्पतालको बर्न आइसियुमा राखेर उनको ज्यान जोगाउने प्रयास भइरहेको छ।

उनी काठमाडौं उपत्यकामा राइड सेयरिङ एपमा राइडरको काम गर्दै आएका थिए। उनी बिहीबार बालाजु हाइटमा रहेको दाइ मदन नेपालीको डेराबाट बिहान बिहान ५ बजे राइडका लागि निस्किएका थिए। दिउँस अचानक घटना भएपछि मात्रै उनको परिवारले जानकारी पाएको थियो।

भाइको स्वास्थ्य अवस्थाले चिन्तित रहेका मदन वीर अस्पतालमा भेटिए। उनी पनि धेरै बोल्न सक्ने अवस्थामा थिएनन्। उनले भाइलाई भेट्दा अस्पतालको इमर्जेन्सी वार्डमा उपचार भइरहेको थियो। त्यो बेलामा सुस्तरी उनले यो सबै महानगरले गर्दा हो। बाबा-मम्मीलाई केयर गर्नु’ मात्र भन्न भ्याए।

उनको परिवारका अनुसार गणेशले राइटरको रूपमा काम गरेर परिवारको खर्च धानिरहेका थिए। सँगै लोकसेवाको तयारी गरिरहेका थिए। परिवारको आर्थिक अवस्थाका कारण दुबई जान सकिन्छ कि भनेर प्रयास गरिरहेको थिए।

बिहीबार विभाग अगाडि के भयो?

गणेशले बाइक राहदानी विभाग अगाडि पार्क गरेकाले उनी कतै विभागमा कामका लागि गएको र त्यहाँ भएको कामको तनावले यस्तो अप्रिय निर्णय लिएकी भन्ने आशंका बढाएको थियो। राहदानी विभागले विज्ञप्ति जारी गरेर उनी विभाग सम्बन्धी कुनै कामले नआएको सार्वजनिक गर्यो।

त्यसपछि उनको बाइकको चक्कामा महानगर प्रहरीको ह्विल लक लागेको खुल्यो। गणेश जल्दै गरेको देखेका र घटनाबारे छानबिन सुरु गरेका प्रहरीका अनुसार विवादको कारण देखियो नगर प्रहरी।

उनले बाइक गलत ठाउँमा पार्क गरेको भनेर काठमाडौं महानगरपालिकाको नगर प्रहरीको टोलीले बाइकमा ह्विल लक गरेर बाइक लैजान खोजेपछि आक्रोशमा आएका उनले पेट्रोल छर्किएर आगो लगाएको देखियो। जिल्ला प्रहरी परिसर काठमाडौंको प्रहरीले आत्मदाहको प्रयास अगाडिको विवाद मोटरसाइकलको ह्विल लक लगाउनु रहेको खुलाएको छ।

महानगरपालिकाको नगर प्रहरीले पनि उनको बाइक पार्किङ गर्न नमिल्ने ठाउँमा पार्क गरेकाले ह्विलमा लक लगाएको स्विकारेको छ। तर उनले आफ्नै बाइकबाट पेट्रोल निकालेर खन्याएका हुन् या बाहिरबाट बोकेर आएका थिए भन्ने खुलेको छैन।

अहिले प्रहरीले घटनास्थल वरपरको सम्भव भए सम्मको सिसिटिभीको फुटेज संकलन गरेर अध्ययन गरिरहेको खुल्यो।

हिजो प्रेमप्रकाशको घटनालाई सरकारको व्यवहारसँग जोड्ने वालेन्द्र अहिले आफैँ प्रधानमन्त्री छन्। अब उनले गणेशको घटनासँग कसलाई जोड्लान्? तीन वर्षसम्म आफैँले नेतृत्व गरेको काठमाडौं महानगरपालिकाका नगर प्रहरीको व्यवहार वा पुरानो दलका २५ वर्षको शासन!

सम्बन्धित समाचार

असार २६, २०८३ शुक्रबार ००:०८:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।