सहकारी तत्काल बन्द गर्नु हुँदैन, निश्चित समय दिएर सुधार गर्नुपर्छ : मन्त्री प्रतिभा रावल
काठमाडौं : भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारी क्षेत्रलाई तत्काल बन्द गर्नुभन्दा निश्चित समयसीमा दिएर सुधार गर्दै लैजानुपर्ने बताएकी छन्।
संसद्को विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै मन्त्री रावलले सहकारीलाई व्यवस्थित बनाउन विगतका अध्ययन, सुझाव र विशेष छानबिन समितिका प्रतिवेदनहरूले छुट्टै नियमनकारी संयन्त्रको आवश्यकता औंल्याएको बताइन्। सहकारी बन्द गर्ने सरकारको कुनै उद्देश्य नरहेको स्पष्ट पार्दै उनले तत्काल बन्द गर्दा भविष्यमा थप जटिलता निम्तिन सक्ने बताइन्।
उनले भनिन्, "तत्काल बन्द गर्यौ भने तीन वर्षपछि फेरि अर्को समस्या आउन सक्छ। त्यसैले हामीले प्रतिनिधिसभाबाट आएको संशोधन स्वीकार गरेका हौँ।"
उनले सहकारी क्षेत्रका समस्या समाधानका लागि नियमन, अनुगमन र सुधारका उपायलाई प्राथमिकता दिनुपर्ने बताइन्। सहकारीको सिद्धान्त, मूल्य मान्यता र उद्देश्यलाई संरक्षण गर्दै समस्या भएका सहकारीलाई व्यवस्थित गर्ने सरकारको नीति रहेको उनको भनाइ थियो।
मन्त्री रावलले सहकारीमा देखिएका विकृति नियन्त्रण गर्न प्रभावकारी संयन्त्र आवश्यक रहेको बताउँदै त्यसका लागि छुट्टै कानुनी व्यवस्था गर्ने तयारी भइरहेको जानकारी दिइन्।
"सहकारीको सिद्धान्त र मूल्य मान्यतालाई प्रवर्धन गर्ने पक्ष एउटा हो। तर उहाँहरूले गर्ने कामलाई कसरी व्यवस्थित गर्ने भन्ने कुरा ऐनमै स्पष्ट गर्न आवश्यक छ," उनले भनिन्।
सहकारी क्षेत्रको समस्या कतिपय अवस्थामा परिवारभित्र मात्र सीमित नभई व्यापक रूपमा फैलिएको अध्ययनले देखाएको मन्त्री रावलले उल्लेख गरिन्।
उनले भनिन्, "परिवारभित्र नाम परेको आधारमा आतंकित हुने अवस्था होला, तर अध्ययन गर्दा समस्या व्यापक रूपमा फैलिएको देखियो । यसलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा हामी गम्भीर छौँ।"
मन्त्री रावलले सहकारी सञ्चालनका लागि मापदण्ड, अनुगमन र जवाफदेहिताको व्यवस्था थप बलियो बनाउनुपर्ने बताइन्। उनले सहकारीका सदस्य तथा सञ्चालकलाई आवश्यक जानकारी गराउने र समस्याग्रस्त सहकारीलाई व्यवस्थापन गर्ने स्पष्ट प्रणाली आवश्यक रहेको धारणा राखिन्।
सहकारीमा लाइसेन्सिङ प्रणाली लागू गर्ने विषयमा उनले विश्वव्यापी अभ्यास, सर्वोच्च अदालतका फैसला तथा विद्यमान कानुनी व्यवस्थालाई आधार बनाएर अघि बढ्नुपर्ने बताइन्।
मन्त्री रावलले ग्रामीण क्षेत्रमा रहेका सहकारीसम्म सूचना र सुधारका कार्यक्रम पुर्याउन विशेष पहल आवश्यक रहेको बताइन्। मन्त्री रावलले सहकारी क्षेत्रलाई पारदर्शी, व्यवस्थित र जनविश्वासयोग्य बनाउन सरकार प्रतिबद्ध रहेको र सोही अनुरूप आफ्ना गतिविधिहरू अघि बढाइरहेको स्पष्ट पारिन्।
असार २५, २०८३ बिहीबार १६:३५:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।