पोलिटब्युरो सदस्य डिबी कार्कीसहित नेकपाका सात नेता एमालेमा प्रवेश

पोलिटब्युरो सदस्य डिबी कार्कीसहित नेकपाका सात नेता एमालेमा प्रवेश

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का पोलिटब्युरो सदस्य डिबी कार्कीसहित सात जना नेताहरू बिहीबार एमालेमा प्रवेश गरेका छन्। ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच उनीहरू एमालेमा प्रवेश गरेका हुन्।

पार्टी प्रवेश गर्नेहरूमा पोलिटब्युरो सदस्य कार्कीसहित केन्द्रीय सदस्यहरू राधेश्याम गुप्ता (रुपन्देही), विद्याप्रसाद शर्मा (दैलेख), वामदेव गौतम (दाङ), भोला बराल (मोरङ), दीपक इटानी (धादिङ) र रवीन्द्र बम (बैतडी) रहेका छन्। नवप्रवेशी नेताहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरे।

एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार पार्टी केन्द्रीय कार्यालयमा बसिरहेको ‘पार्टी पुनर्गठन कार्यदल’को बैठक केहीबेर स्थगित गरेर अध्यक्ष ओलीले नवप्रवेशीहरूलाई पार्टीमा भित्र्याएका हुन्।

सो अवसरमा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ, महासचिव शङ्कर पोखरेल र सचिव पद्मा अर्याल लगायतका नेताहरूको उपस्थिति रहेको थियो। पार्टी प्रवेशको कार्यक्रम सकिए लगत्तै कार्यदलको बैठक पुनः सुचारु भएको छ।

असार २५, २०८३ बिहीबार १६:१५:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।