ललितपुर महानगरले साउन १५ देखि घरघरमै पुगेर स्वास्थ्य सेवा दिने

ललितपुर महानगरले साउन १५ देखि घरघरमै पुगेर स्वास्थ्य सेवा दिने

ललितपुर : ललितपुर महानगरपालिकाले आगामी साउन १५ गतेदेखि बालबालिका, अशक्त व्यक्ति र ज्येष्ठ नागरिकलाई लक्षित गर्दै घरघरमै स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ। 

महानगरवासीको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै महानगरले स्वास्थ्यकर्मीमार्फत यो विशेष सेवा सुरु गर्न लागेको हो।

नगरप्रमुख चिरीबाबु महर्जनले स्वास्थ्यमा कुनै पनि समस्या आएमा महानगरको हटलाइन नम्बर ११३१ मा सम्पर्क गर्न नगरवासीलाई अनुरोध गरेका छन्।

तोकिएको हटलाइन नम्बरमा बिरामीको फोन आउनासाथ महानगरको एम्बुलेन्स, चिकित्सक, नर्स र आवश्यक औषधिसहितको स्वास्थ्य टोली तुरुन्तै बिरामीको घरमा पुग्नेछ। टोलीमा संलग्न चिकित्सकले बिरामीको अवस्था हेरेर घरमै आवश्यक उपचार सेवा प्रदान गर्नेछन्।

यदि घरमा उपचार सम्भव नभएमा बिरामीलाई सोही एम्बुलेन्समार्फत तत्काल अन्य अस्पतालमा पठाइने व्यवस्था समेत मिलाइएको छ।

महानगरभित्र  करिब दुई लाख ९४ हजार नागरिक रहेका छन्। 

असार २५, २०८३ बिहीबार ११:४९:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।