मेची राजमार्गको माइखोला खण्ड भासियो : चार जिल्लाको आवागमन ठप्प, यात्रु र बिरामी अलपत्र

मेची राजमार्गको माइखोला खण्ड भासियो : चार जिल्लाको आवागमन ठप्प, यात्रु र बिरामी अलपत्र

इलाम : निरन्तरको वर्षा र कमजोर भूबनोटका कारण मेची राजमार्गको इलाम नगरपालिका–९ स्थित माइखोला (राजदुवाली) खण्डको सडक भासिएको छ। 

पूर्वी पहाडी जिल्लाहरूको 'लाइफलाइन' मानिने यो राजमार्ग बिहीबार बिहानदेखि पूर्ण रूपमा अवरुद्ध भएको हो।

सडक भासिएपछि इलाम, पाँचथर र ताप्लेजुङलाई झापा (तराई) सँग जोड्ने मुख्य मार्ग विच्छेद भएको छ।

राजमार्ग ठप्प हुँदा दैनिक उपभोग्य सामग्री बोकेका मालवाहक सवारी साधन, बिरामी बोकेका एम्बुलेन्स र गन्तव्यतर्फ हिँडेका सयौँ यात्रुहरू बाटोमै अलपत्र परेका छन्।

तराईबाट पहाडतर्फ आउँदै गरेका गाडीहरू माइखोला बजार क्षेत्रमा र पहाडबाट झापातर्फ जाँदै गरेका गाडीहरू गोलाखर्क भञ्याङ क्षेत्रमै रोकिँदा यात्रुहरू हिँडेरै जोखिमपूर्ण बाटो पार गर्न बाध्य छन्।

राजमार्ग अवरुद्ध हुँदा सबैभन्दा ठुलो मारमा बिरामी परेका छन्। पहाडी जिल्लाहरूमा सुविधासम्पन्न अस्पताल नहुँदा आकस्मिक उपचारका लागि झापा वा विराटनगर रेफर गरिएका बिरामीहरूलाई हिलो र जोखिमपूर्ण सडकमा स्ट्रेचरमा बोकेर लैजानुपर्ने बाध्यता छ।

यसका साथै इलाम र पाँचथरका कृषकहरूले उत्पादन गरेको दूध तथा तरकारी जस्ता कुहिने सामानहरू बजारसम्म पुर्याउन नपाउँदा लाखौँको आर्थिक क्षति व्यहोर्नुपरेको स्थानीय व्यवसायीहरू बताउँछन्। 

यता सडक डिभिजन कार्यालय इलाम र जिल्ला प्रशासन कार्यालयले अवरोध हटाउन स्काभेटर तथा आवश्यक जनशक्ति परिचालन गरेपनि वर्षा नरोकिएकाले काममा अवरोध पुगेको छ। सडक डिभिजनका अनुसार सडकको धेरै भाग खोलातर्फ खसेकाले केवल पहिरो पन्छाएर मात्र तत्काल सडक सुचारु गर्न सम्भव छैन। खोलाको बगरबाटै ठुलो ग्याबियन पर्खाल उठाएर काम सम्पन्न भएपछि मात्रै दीर्घकालीन रूपमा सडक सञ्चालन गर्न सकिने अवस्था छ।

मुख्य राजमार्ग ठप्प भएपछि बैकल्पिक सडक प्रयोग गर्न खोजिए पनि यात्रु र चालकहरूले थप सास्ती भोग्नुपरेको छ।

मुख्य सडक अवरुद्ध भएपछि सवारी साधनहरूले बेलासे–इलाम वैकल्पिक सडक प्रयोग गर्न खोजेका छन्, तर मेची करीडोर सडक अन्तर्गत गत पुवाखोलामा पुल नहुँदा साना, ठुला तथा मालवाहक सवारी साधनहरू वारपार गर्न सकेका छैनन्। बाढी र हिलोका कारण वैकल्पिक मार्ग पनि भरपर्दो नहुँदा गाडी चल्न सकेका छैनन्।

यस्तै मुख्य राजमार्ग अवरुद्ध भएपछि स्थानीय प्रशासन र प्रहरीको समन्वयमा सिमल गोलाई–तिल्किने सडक खण्डबाट साना सवारी साधनहरू (जिप, ट्याक्सी) लाई मात्र आंशिक रूपमा सञ्चालन गराइएको छ।

तर, ग्रामीण सडक साँघुरो र हिलाम्मे भएकाले साना सवारी साधन सञ्चालनमा पनि निकै जोखिम र ढिलाइ भइरहेको छ। ठुला बस र मालवाहक सवारी साधन पूर्ण रूपमा रोकिँदा यात्रुहरू हिँडेरै वा साना गाडी परिवर्तन गर्दै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

असार २५, २०८३ बिहीबार ११:२३:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।