मौसम पूर्वानुमान : पाँच प्रदेशका पहाडी भू-भागमा भारी वर्षाको सम्भावना, तराईमा हावाहुरी
काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी क्षेत्रमा औसतभन्दा दक्षिण र पश्चिमी क्षेत्रमा औसत स्थानकै आसपास अवस्थित छ।
अहिले देशभर साधारणतया बदलीको अवस्था छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।
दिउँसो देशभर साधारणतया बदली रहनेछ। पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
यस्तै, कोशी, लुम्बिनी र सुदूरपश्चिमका तराई भू-भागका केही स्थान तथा मधेश, बागमती र गण्डकीका तराईका एक-दुई स्थानमा मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
विशेषगरी कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ।
रातको समयमा पनि देशभर बदलीकै अवस्था रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली भू-भागका केही स्थान तथा अन्य प्रदेशका हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ।
यस्तै, मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई भू-भागका केही स्थानमा मध्यम वर्षाको प्रक्षेपण गरिएको छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। मधेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा राति पनि हावाहुरीको सम्भावना देखिन्छ।
भारी वर्षा र हावाहुरीको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो र गेग्रान बहावको जोखिम हुनसक्ने भएकाले नदी तटीय क्षेत्र र भिरालो जमिन आसपासका बासिन्दालाई सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन्।
असार २५, २०८३ बिहीबार ०७:१३:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।