देशभर मनसुनको प्रभाव, यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भूभागतर्फ सरदर स्थान आसपास रहेको छ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभर सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराईका केही स्थान र मधेस तथा कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुनेछ। विशेषगरी पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।
साथै, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा हुरीबतासको सम्भावना रहेको महाशाखाले जनाएको छ। हिमाली क्षेत्रमा भने वर्षासँगै हिमपातको समेत सम्भावना छ।
राति देशका अधिकांश भूभागमा बदली रहनेछ। मधेस प्रदेश र कोशी, बागमती तथा गण्डकीका पहाडी र तराई भूभागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा चट्याङसहित वर्षा हुनेछ।
यस क्रममा मधेस, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका थोरै स्थानमा 'भारीदेखि धेरै भारी' वर्षाको सम्भावना छ।
कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो र डुबानको जोखिम छ।
महाशाखाले नदी तटीय क्षेत्रका बासिन्दा तथा सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन र पछिल्लो मौसमी सूचनामा अद्यावधिक रहन आग्रह गरेको छ।
असार २४, २०८३ बुधबार ०७:११:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।