प्रधानमन्त्रीलाई अश्लील गाली गर्ने रोशन पोखरेल पुर्पक्षका लागि थुनामा
पाँचथर : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र उनको परिवारलाई लक्षित गरी सामाजिक सञ्जालमा अभद्र गालीगलौज तथा अमर्यादित सामग्री पोस्ट गरेको आरोपमा पाँचथरका एक युवक पुर्पक्षका लागि कारागार चलान भएका छन्।
पाँचथर जिल्ला अदालतका न्यायाधीश कुमार मास्केको इजलासले पाँचथरको फाल्गुनन्द गाउँपालिका-७, दोबाटे बस्ने २४ वर्षीय रोशन पोखरेललाई मुद्दाको किनारा नलागुन्जेलसम्मका लागि पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो।
पोखरेलले फेसबुकमा ‘Hades Junglee’ नामक प्रोफाईल तथा टिकटक र इन्स्टाग्राम अकाउन्टहरू प्रयोग गरी प्रधानमन्त्री बालेन शाह र उनको परिवारलाई लक्षित गरेर मानप्रतिष्ठामा आँच आउने गरी अश्लील, अमर्यादित र अपमानजनक शब्दहरू प्रयोग गरी भिडियो तथा स्टेटसहरू पोस्ट गरेका थिए।

सामाजिक सञ्जालको निगरानी गर्ने क्रममा प्रहरीले फेला पारेपछि उनलाई नियन्त्रणमा लिई अनुसन्धान सुरू गरिएको थियो। उनीविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गतको कसूरमा मुद्दा चलाइएको थियो।
आरोपी पोखरेलले सरकारी अधिकारीसमक्ष दिएको बयानमा आफूले सामाजिक सञ्जालमा ‘लाइक र कमेन्ट’ बढाउने लोभमा परेर प्रधानमन्त्री बालेन शाहविरुद्ध अश्लील शब्दहरू प्रयोग गरी भिडियो तथा स्टेटस पोस्ट गरेको स्वीकार गरेका छन्।
उनले नेताहरूलाई व्यङ्ग्य गर्ने क्रममा सामाजिक सञ्जालमा त्यस्ता सामग्रीहरू पोस्ट गरेको भन्दै कानुनबमोजिम सजाय भोग्न तयार रहेको बताएका थिए।
प्रहरीले पोखरेलको साथबाट एनटीसी र एनसेलका सिमकार्डसहितको एक थान ‘शाओमी १४ टी’ कम्पनीको मोबाइल फोन बरामद गरेको थियो। उक्त मोबाइललाई परीक्षणका लागि काठमाडौंस्थित डिजिटल फरेन्सिक ल्याबमा पठाइएको छ।
अभियोग-पत्रमाथि प्रारम्भिक सुनुवाइ र थुनछेक बहसपछि अदालतले असार १८ गते पोखरेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।
असार २३, २०८३ मंगलबार १३:३३:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।