नुवाकोटमा मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको काठमाडौंमा मृत्यु

नुवाकोटमा मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको काठमाडौंमा मृत्यु

नुवाकोट : नुवाकोटको विदुर नगरपालिका-४ बट्टार बजारमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका एक पैदलयात्रीको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको छ।

विदुर नगरपालिका-४ बस्ने अन्दाजी ५५ वर्षीय प्रेम प्रसाद रिजालको आइतबार राति काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

प्रहरीका अनुसार असार २२ गते राति करिब साढे ८ बजे विदुरबाट बट्टारतर्फ जाँदै गरेको बा ४७ प १६३४ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका रिजाललाई ठक्कर दिएको थियो।

ठक्करबाट टाउकोमा गम्भीर चोट लागेका उनलाई तत्काल उद्धार गरी उपचारका लागि त्रिशूली अस्पताल नुवाकोट पठाइएको थियो।

त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि राति पौने १० बजे काठमाडौंको केएमसी अस्पताल रिफर गरिएको थियो।

त्यहाँबाट पनि थप उपचारका लागि ग्राण्डी अस्पताल पुर्याइएका रिजालको राति ११:२० बजे उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटना गराउने मोटरसाइकल र चालक विदुर नगरपालिका वडा नं. १ बस्ने अन्दाजी ३० वर्षीय राज कुमार मिजारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका क्रममा चालक मिजारको दाहिने हत्केलामा सामान्य चोट लागेको छ।

घटनाको जानकारी पाउनासाथ अस्थायी प्रहरी पोष्ट बसपार्क नुवाकोटबाट प्रहरी सहायक निरीक्षक राम प्रवेश महतोको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो।

प्रहरीले दुर्घटनाका सम्बन्धमा थप कानुनी प्रक्रिया अघि बढाएको छ।

असार २३, २०८३ मंगलबार ११:३४:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।