काठमाडौं उपत्यकाका सडक जलमग्न र पहाडी भेगमा पहिरोको जोखिम
काठमाडौं : मनसुनी प्रणाली सक्रिय भएसँगै काठमाडौं उपत्यकासहित देशका विभिन्न पहाडी भू-भागमा वर्षा जारी रहेका कारण सडक जलमग्न र डुबानको जोखिमप्रति उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
आगामी तीन दिन पहाडी क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको औँल्याउँदै जल तथा मौसम विज्ञान विभागले सवारी चालक तथा पैदल यात्रीलाई विशेष सावधानी अपनाउन र मौसमसम्बन्धी अद्यावधिक सूचनामा ध्यान दिन सूचित गरेको हो।
विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भू-भागतर्फ सरदरभन्दा दक्षिण र पश्चिमी भू-भागतर्फ सरदर आसपासमा अवस्थित छ। मौसमविद् रोजन लामिछानेले उपत्यकामा वर्षा जारी रहेकाले सवारीसाधन चलाउँदा तथा पैदलयात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरे।
“उपत्यकामा केही समय वर्षा हुने सम्भावना छ। सडक जलमग्न हुन सक्छन्, केही स्थानमा डुबानसमेत हुन सक्छ। त्यसैले यात्रु तथा सवारी चालकले सतर्कता अपनाउन आवश्यक छ,” उनले भने।
विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले आगामी तीन दिन देशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको जानकारी दिए। उनका अनुसार मनसुनी वायुको प्रभाव देशभर रहे पनि प्रणाली अत्यधिक शक्तिशाली नरहेकाले व्यापक रूपमा भारी वर्षाको सम्भावना भने कम छ।
“मनसुनी हावाको प्रभाव देशैभर छ। तर प्रणाली धेरै शक्तिशाली नभएकाले पहाडी भूभागका एक-दुई स्थानमा मात्रै भारी वर्षा हुन सक्छ। धेरै आत्तिनुपर्ने अवस्था छैन, तर आवश्यक सतर्कता भने अपनाउनुपर्छ”, वरिष्ठ मौसमविद् अर्यालले भने।
विभागका अनुसार हाल बागमती प्रदेशका चितवन र दोलखा, कोशी प्रदेशका सोलुखुम्बू र मोरङ, लुम्बिनी प्रदेशका रोल्पा, अर्घाखाँची र पाल्पा, कर्णाली प्रदेशको मुगु तथा सुदूरपश्चिम प्रदेशको कैलाली आसपासका क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
मौसमविद्ले नदी, खोला तथा पहिरोको जोखिम रहेका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई मौसमसम्बन्धी अद्यावधिक सूचनामा ध्यान दिन र आवश्यक सावधानी अपनाउन अनुरोध गरेका छन्।
असार २२, २०८३ सोमबार १९:३१:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।