आजको मौसम : देशैभर मनसुनी बादल, कोशी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना
काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागतर्फ सरदर स्थानभन्दा केही दक्षिणमा र पश्चिमी भू-भागतर्फ सरदर स्थानकै आसपास अवस्थित छ।
अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली (बादल लाग्ने) को अवस्था छ भने मधेस प्रदेशमा आंशिक बदली रहेको छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
दिउँसो देशका पहाडी तथा हिमाली भू-भागका साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा साधारणतया बदली रहनेछ। कोशी, मधेस र बागमती प्रदेशका तराई क्षेत्रमा भने आंशिक बदली हुने अनुमान छ।
पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा उच्च हिमाली भेगमा हिमपातको सम्भावना छ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका थोरै स्थानहरूका साथै कोशी र मधेस प्रदेशका एक-दुई स्थानमा वर्षाको सम्भावना छ। मधेस प्रदेशसहित कोशी र बागमती प्रदेशका तराई क्षेत्रमा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ।
राति देशभर साधारणतया बदली रहनेछ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
यस्तै, मधेस प्रदेशका साथै कर्णाली र बागमती प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानमा पनि वर्षा र हिमपातको सम्भावना छ। विशेष गरी कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
असार २२, २०८३ सोमबार ०८:०२:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।