गोली लागेर बाँचेको ‘ध्रुवे’को आतंक : हालसम्म २५ जनाको मृत्यु, नियन्त्रणमा सरकारी उदासीनता
काठमाडौं : चितवनको भरतपुर महानगरपालिका-२३ बेलहट्टामा जंगली हात्तीको आक्रमणबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ।
शनिबार राति करिब ११ बजे घरभित्रै सुतिरहेको अवस्थामा हात्तीले आक्रमण गर्दा २१ वर्षीया आशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेको घटनास्थलमै ज्यान गएको हो।
चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार हात्तीको गम्भीर प्रहारबाट आमा-छोराको घटनास्थलमै मृत्यु भएको थियो। घटनाका क्रममा आशिकाका श्रीमान् पूर्ण बोटेले हात्ती धपाउन आगो बाल्ने प्रयास गर्दा आफ्नै कच्ची घरमा आगलागी समेत भएको थियो।
घटनाको जानकारी पाउनासाथ नेपाली सेना र इलाका प्रहरी कार्यालय गीतानगरबाट सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको थियो सुरक्षाकर्मी र स्थानीयको प्रयासमा घरमा लागेको आगो नियन्त्रणमा लिइएको छ।
चितवन राष्ट्रिय निकुञ्ज आसपासका बस्तीहरूमा जंगली हात्तीको प्रवेश र मानवीय क्षति नयाँ विषय होइन। विशेषगरी 'ध्रुवे' नामले चिनिने जंगली हात्तीले मानवीय क्षति पुर्याउन थालेपछि चितवन आसपासका स्थानीय बासिन्दा वर्षौँदेखि त्रासपूर्ण जीवन बिताइ रहेका छन्।
चितवन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण कार्यालयका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार ‘ध्रुवे’ हात्तीको आक्रमणबाट २०६६ सालदेखि हालसम्म २५ जनाको मृत्यु भइसकेको छ। उनका अनुसार ‘ध्रुवे’ले आक्रमण गरेका अधिकांश घटनामा मानिस बाँच्न सकेका छैनन्।
उक्त हात्तीले २०६६ सालदेखि मानवमाथि आक्रमण गर्न थालेको हो। विशेषगरी ०६९ सालमा यसले धेरै मानवीय क्षति पुर्याएपछि हात्तीलाई नियन्त्रण गर्न र मार्ने आदेशसमेत जारी गरिएको थियो। त्यस क्रममा हात्तीमाथि गोली प्रहार गरे पनि ‘ध्रुवे’ बाँच्न सफल भएको सूचना अधिकारी थापा मगरले जानकारी दिए।
गोली प्रहारपछि केही वर्ष शान्त रहेको यो हात्ती पछिल्ला वर्षहरूमा पुनः आक्रामक बन्दै गएको छ। यसले मानवीय क्षतिका साथै घरगोठ, अन्नबाली र भौतिक सम्पत्तिमा ठूलो नोक्सानी पुर्याउँदै आएको छ।
‘ध्रुवे’को आक्रमणबाट २०७४ सालमा नेपाली सेनाका एक मेजरको समेत ज्यान गएको थियो। मानवीय क्षतिसँगै उक्त हात्तीले घर, बाली तथा अन्य सम्पत्तिमा समेत ठूलो क्षति पुर्याउने गरेको सूचना अधिकारी थापा मगरले जानकारी दिए।
जंगली हात्तीबाट हुने मानवीय तथा भौतिक क्षतिका विषय पटक–पटक संसदमा कुरा उठाइए पनि समस्या समाधानतर्फ सरकारको प्रभावकारी ध्यान भने जान सकेको छैन।
विशेषगरी ‘ध्रुवे’नामले परिचित जंगली हात्तीको आतंक वर्षौँदेखि हुँदै आए पनि यसको नियन्त्रण भने हुन सकेको छैन। सरकारले समयमै आवश्यक कदम चाल्न नसक्दा चितवनका विभिन्न स्थानीबासीहरु त्रासपूर्ण वातावरणमा बस्न बाध्य छन्।
वन्यजन्तुको आवतजावत नियन्त्रण गर्नुपर्ने, जोखिमयुक्त क्षेत्रका बस्तीलाई सुरक्षित व्यवस्थापन गर्नुपर्ने र आधुनिक प्रविधिको प्रयोग गरी पूर्वसूचना प्रणाली लागू गर्नुपर्ने माग स्थानीयको छ।
राज्य र सम्बन्धित निकायको पर्याप्त पहल र दीर्घकालीन योजनाको अभावमा हात्तीको आक्रमणका घटनाहरू दोहोरिन थालेका छन्। -पार्वती भण्डारी, नेपाल न्यूज बैंक
असार २१, २०८३ आइतबार १४:५३:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।