कोरला सडकलाई 'पर्यटकीय राजमार्ग' का रूपमा विकास गर्ने सरकारको लक्ष्य
मुस्ताङ : सरकारले कालिगण्डकी करिडोरअन्तर्गतको कोरला सडकलाई 'पर्यटकीय राजमार्ग' का रूपमा विकास गर्ने लक्ष्य राखेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले देशको आर्थिक समृद्धिको मूल आधार पर्यटन भएकाले यस क्षेत्रको पूर्वाधार विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका हुन्।
जिल्ला प्रशासन कार्यालय मुस्ताङद्वारा आयोजित 'मुस्ताङको पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन' सम्बन्धी छलफल कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यस्तो योजना सार्वजनिक गरेका हुन्।
उनले कालिगण्डकी करिडोरअन्तर्गत दक्षिणको भैरहवादेखि उत्तरको कोरला नाकासम्मको सडकलाई चाँडो स्तरोन्नति गरी पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना रहेको बताए। मुस्ताङ–डोल्पा सडक: मुस्ताङ र डोल्पालाई जोड्ने सडक खण्डलाई पनि सरकारले उच्च प्राथमिकतामा राखेर काम अगाडि बढाउने मन्त्री पौडेलले स्पष्ट पारे।
मुक्तिनाथ क्षेत्रमा बढी उचाइका कारण पर्यटकहरूलाई लेक लाग्ने समस्या जटिल बन्दै गएकाले, यसको न्यूनीकरण र व्यवस्थापनका लागि 'टाइम कार्ड' लागू गर्न उनले सरोकारवाला निकायलाई सुझाव समेत दिए।
कार्यक्रममा मुस्ताङका पर्यटन व्यवसायी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले स्थानीय पर्यटनका सम्भावना, विद्यमान चुनौती र पूर्वाधार अभावबारे मन्त्री पौडेलको ध्यानाकर्षण गराएका थिए।
असार २१, २०८३ आइतबार १४:०१:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।