मनसुन सुस्त हुँदा धान रोपाइँमा कमी : असार १९ सम्म देशभर झण्डै २५ प्रतिशत मात्र रोपाइँ
काठमाडौं : यस वर्ष पर्याप्त वर्षा नहुँदा देशभर धान रोपाइँको गति सुस्त देखिएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको असार १९ गतेसम्म देशभर कुल २४.९ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ।
देशभर धान खेती हुने कुल १३ लाख ७० हजार ६२ हेक्टर क्षेत्रफलमध्ये हालसम्म ३ लाख ४१ हजार २०९.४६ हेक्टरमा मात्र रोपाइँ सकिएको मन्त्रालयको तथ्यांकले देखाउँछ।
मन्त्रालयको प्रादेशिक विवरण अनुसार यस वर्ष सुदूरपश्चिम प्रदेशमा सबैभन्दा तीव्र गतिमा रोपाइँ भइरहेको छ भने कोशी र मधेश प्रदेशमा रोपाइँ निकै सुस्त देखिएको छ।
सुदूरपश्चिममा एक लाख ५४ हजार ९५० हेक्टरमध्ये ८९ हजार ७४२ हेक्टर (५७.९२ प्रतिशत) क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ।
गण्डकी प्रदेशमा ९३ हजार ६०६ हेक्टरमध्ये ३५ हजार ८८१.४ हेक्टर (३८.३३ प्रतिशत) र बागमती प्रदेशमा एक लाख १४ हजार ५२४.४ हेक्टरमध्ये ३८ हजार २६.१७ हेक्टर (३३.२१ प्रतिशत) क्षेत्रमा धान रोपाइँ भएको मन्त्रालयले जनाएको छ।
कर्णाली प्रदेशमा ४३ हजार २९० हेक्टरमध्ये १२ हजार १८५ हेक्टर (२८.१५ प्रतिशत) र र लुम्बिनी प्रदेशमा ३ लाख १ हजार ३७२ हेक्टरमध्ये ६२ हजार ६७०.८७ हेक्टर (२०.८० प्रतिशत) क्षेत्रमा धान रोपाइँ भएको छ।
मधेश प्रदेशमा ३ लाख ८५ हजार ९३३ हेक्टरमध्ये ६० हजार ३४६.०६ हेक्टर (१५.६४ प्रतिशत) क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ भने कोशी प्रदेशमा सबैभन्दा कम दुई लाख ७६ हजार ३८६.७३ हेक्टरमध्ये ४२ हजार ३५७.९६ हेक्टर (१५.३३ प्रतिशत) क्षेत्रमा धान रोपाइँ भएको छ।
रोपाइँ आकाशे पानीमा निर्भर हुने भएकाले पर्याप्त वर्षा नहुँदा गत वर्षको तुलनामा यसपालि किसानहरूले बेलैमा रोपाइँ गर्न पाएका छैनन्।
असार २१, २०८३ आइतबार १२:४०:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।