मौसम पूर्वानुमान : आज कहाँकहाँ हुनेछ वर्षा ?

मौसम पूर्वानुमान : आज कहाँकहाँ हुनेछ वर्षा ?

काठमाडौं : मनसुन वायुको प्रभावका कारण आइतबार देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मनसुनको न्यून चापीय रेखा मुलुकको पूर्वी क्षेत्रतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी क्षेत्रतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको महाशाखाले जनाएको छ। हाल देशभर साधरणतया बादल लागेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आइतबार दिउँसो देशका हिमाली र पहाडी क्षेत्रमा साधरणतया बादल लाग्नेछ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि साधरणतया बादल लाग्ने तथा कोशी, मधेस र बागमती प्रदेशका तराईमा आंशिकदेखि साधरणतया बादल लाग्ने सम्भावना छ।

हिमाली तथा पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान, कोशी र बागमती प्रदेशका तराईका केही स्थान तथा मधेस प्रदेशका एक दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

त्यसैगरी, आइतबार राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल लाग्ने तथा बाँकी प्रदेशमा आंशिकदेखि साधरणतया बादल लाग्ने छ। हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपात हुनसक्ने छ। 

सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थान, कोशी र कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। 

कोशी प्रदेशको तराई क्षेत्र तथा मधेस प्रदेशका एक दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्नेछ। सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

असार २१, २०८३ आइतबार ०७:०१:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।