घानालाई ९० मिनेटसम्म ‘सट अन टारगेट’ विहीन बनाउँदै कोलम्बिया अन्तिम १६ मा, चर्चामा गोलकिपर लरेन्स

घानालाई ९० मिनेटसम्म ‘सट अन टारगेट’ विहीन बनाउँदै कोलम्बिया अन्तिम १६ मा, चर्चामा गोलकिपर लरेन्स

काठमाडौं : फिफा विश्वकप २०२६ को नकआउट चरणअन्तर्गत कोलम्बिया र घानाबीचको खेल उतारचढावपूर्ण रह्यो।

खेल सुरू भएको १५ मिनेटभित्रै दुवै टोलीका खेलाडी घाइते हुनु, मैदान छिरेका वैकल्पिक खेलाडीले तत्कालै गोल गर्नु र पराजित टोलीका गोलकिपरको प्रदर्शनले खेललाई निकै रोमाञ्चक बनायो।

अन्ततः घानालाई १-० को गोल अन्तरले पराजित गर्दै कोलम्बिया अन्तिम १६ मा प्रवेश गर्यो।

खेलको आठौं मिनेटमै कोलम्बियाका मुख्य स्ट्राइकर जोन कोर्डोबा घाइते भएर मैदानबाट बाहिरिनुपर्यो। उनको स्थानमा लुइस सुआरेज मैदान छिरे।

त्यसको लगत्तै १३औं मिनेटमा घानाका डिफेन्डर मार्भिन सेनाया पनि चोटकै कारण आँसु बगाउँदै मैदान छाड्न बाध्य भए। खेलको १५ मिनेट नबित्दै दुवै टोलीले रणनीति बदल्न बाध्य हुनुपर्यो।

तर, कोलम्बियाका लागि भने यो चोटको फाइदा उठायो।

मैदान छिरेका कोलम्बियाका सुआरेजले मैदान प्रवेश गरेको केही मिनेटमै (१४औं मिनेटमा) उत्कृष्ट क्रस पास उपलब्ध गराए, जसमा जोन अरियासले पहिलो प्रहारमै सानदार गोल गरे।

गोलकिपर भर्सेज कोलम्बियाको आक्रमण
खेल १-० को स्थितिमा सकिए पनि कोलम्बियाले खेलभरि नै आक्रामक दबाब सिर्जना गरेको थियो।

कोलम्बियाको जितको अन्तर फराकिलो हुन नदिन घानाका गोलकिपर लरेन्स अति जिगी अभेद्य पर्खाल बनेर उभिए।

उनले पहिलो हाफको इन्जुरी समयमा योहान मोजिकाको प्रहारलाई अद्भूत बचाउ गरे भने दोस्रो हाफमा पनि लुइस डियाजको प्रहारलाई विफल तुल्याए।

९५औं मिनेटसम्म पनि जिगीले कोलम्बियाका प्रहारहरू रोकिरहेका थिए।

यो खेलको सबैभन्दा अनौठो र रोमाञ्चक पक्ष के रह्यो भने, खेल जित्नका लागि गोल फर्काउनै पर्ने दबाबमा रहेको घानाले पूरै ९० मिनेटको अवधिमा कोलम्बियाको गोलपोस्टमा एउटा पनि सिधा प्रहार (सट अन टारगेट) गर्न सकेन।

कोलम्बियाको बलियो रक्षापङ्क्ति र मिडफिल्डले घानाका स्ट्राइकरहरूलाई पूरै निरिह बनाइदिएको थियो।

दोस्रो हाफको ५७औं मिनेटमा कोलम्बियाका स्टार विङ्गर लुइस डियाजले बललाई जाली चुमाउँदै टिमको खुसीयाली दोब्बर बनाएका थिए। तर, भीएआरको सहयोगमा रेफ्रीले त्यसलाई ‘अफसाइड’ घोषित गरिदिएपछि कोलम्बियाका खेलाडी र समर्थकको सेलिब्रेसन बीचमै रोकिन पुग्यो।

जितसँगै कोलम्बियाले अन्तिम १६ मा स्विट्जरल्यान्डसँगको भेट पक्का गरेको छ।

असार २०, २०८३ शनिबार ०९:३३:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।