मनसुन सक्रिय : अधिकांश स्थानमा वर्षाको सम्भावना, सतर्क रहन आग्रह

मनसुन सक्रिय : अधिकांश स्थानमा वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहेको छ भने मधेस प्रदेशमा आंशिक बदली छ।

अहिले बागमती, कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। देशका पहाडी तथा हिमाली भू-भागका केही स्थानहरू र तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति पनि देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले महाशाखाले ती क्षेत्रका बासिन्दालाई बाढी, पहिरो र गेग्रान बहावको जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

असार २०, २०८३ शनिबार ०७:२७:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।