दर्जन बढी संवैधानिक पदहरू रिक्त; नियुक्ति सिफारिसका लागि बोलाइयो संवैधानिक परिषद्को बैठक
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार अपराह्न ५ बजे बस्ने गरी संवैधानिक परिषद्को बैठक बोलाएका छन्।
बैठकमा संवैधानिक निकायको रिक्त पदमा नियुक्ति सिफारिससम्बन्धी विषयमा छलफल हुने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले जानकारी दिए।
हाल निर्वाचन आयोगमा अध्यक्षसहित दुई, राष्ट्रिय मानव अधिकार आयोगको सदस्य एक र मुस्लिम आयोगका अध्यक्षसहित दुई पद रिक्त छन्। राष्ट्रिय समावेशी आयोग अध्यक्षसहित दुई पद रिक्त छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक सदस्य पद रिक्त छ।
थारु आयोगमा अध्यक्षसहित दुई र मधेसी आयोगमा पनि अध्यक्षसहित दुई पद रिक्त छन्। राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोगमा अध्यक्षसहित तीन र महिला आयोगमा एक सदस्य पद खाली छ। ती पदहरूमा संवैधानिक परिषद्ले नाम छनोट गरी संसदीय सुनुवाइका लागि सिफारिस गर्ने संवैधानिक प्रावधान छ।
असार १९, २०८३ शुक्रबार १५:११:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।