कर्णाली राजमार्गमा फोर्स गाडी नदीमा खस्यो; भिरबाट एक जनाको अचेत अवस्थामा उद्धार, गोताखोरको टोली परिचालन

कर्णाली राजमार्गमा फोर्स गाडी नदीमा खस्यो; भिरबाट एक जनाको अचेत अवस्थामा उद्धार, गोताखोरको टोली परिचालन

दैलेख : कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेतडामा बिहीबार बिहान एउटा यात्रुबाहक फोर्स गाडी दुर्घटना भई कर्णाली नदीमा खसेको छ।

नदीमा जलसतह बढेको र गाडी नदेखिने गरी डुबेकाले उद्धार कार्यमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए। 

सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कप्र ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी बिहान ११:३० बजे सडकबाट करिब ४०० मिटर तल खसेर नदीमा डुबेको हो। सुर्खेत बसपार्कबाट बिहान ८ बजे छुट्दा गाडीमा चालकसहित ५ जना सवार रहेको बताइए पनि दुर्घटनाको समयमा गाडीमा ठ्याक्कै कति जना थिए भन्ने कुरा अझै यकिन हुन सकेको छैन।

उक्त स्थानबाट नामथर र वतन नखुलेका एक जना पुरुष भिरमा अचेत अवस्था अड्केको अवस्थामा उद्धार गरिएको प्रहरी नायब उपरीक्षक विकले जानकारी दिए। उद्धारका सामग्रीसहित प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा बेसका जनशक्तिले संयुक्त रूपमा खोज उद्धारको कार्य गरिरहेका उनले बताए। 

नदीमा बेपत्ता भएका अन्य यात्रु र गाडीको खोजीका लागि सुर्खेतबाट कर्णाली प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) जयराज सापकोटासहित गोताखोरको विशेष टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ।

दुर्घटनास्थल दैलेखको पाल्तडा प्रहरी चौकीबाट तीन किलोमिटर उत्तर र जिल्ला प्रहरी कार्यालयबाट ५० किलोमिटर पश्चिममा पर्दछ। दुर्घटनास्थलमा  ३५ जनाको प्रहरी टोली उद्धारका लागि खटिएको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।

असार १८, २०८३ बिहीबार १७:२२:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।