आजको मौसम : बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम सामान्यदेखि पूर्ण बदली रहेको छ भने कोशी र मधेश प्रदेशमा आंशिक बदली छ।
अहिले बागमती र गण्डकीका केही स्थानका साथै लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र कोशी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर साधारणदेखि पूर्ण बदली रहनेछ। देशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ।
यस्तै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा मधेश र कोशी प्रदेशको तराईका एक-दुई स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको छ।
आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा कर्णाली, सुदूरपश्चिम र लुम्बिनीका हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ।
यसैगरी, कोशी, कर्णाली, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानका साथै मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। राति गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभाग तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराई क्षेत्रका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।
असार १८, २०८३ बिहीबार ०८:०४:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।