आजको मौसम : पाँच प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना
काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा विस्तार भइसकेको छ।
हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बदली (बादल लाग्ने) रहेको छ भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदलीको अवस्था छ।
अहिले बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कोशी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर पूर्णतया बदली रहने महाशाखाले जनाएको छ। देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ।
यस्तै, पहाडी भूभागका धेरै स्थान तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
आज राति पनि देशभर पूर्णतया बदली रहनेछ। हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
देशका पहाडी भूभागका केही स्थान र तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले पूर्वानुमान गरेको छ। साथै राति कोशी, बागमती र लुम्बिनी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
असार १७, २०८३ बुधबार ०७:४९:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।