भारी वर्षाको जोखिम : कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह

भारी वर्षाको जोखिम : कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह

बागमती : जिल्ला प्रशासन कार्यालय, मकवानपुरले हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीको मार्ग 'कान्ति लोकपथ' मा रातको समयमा यात्रा नगर्न आग्रह गरेको छ।

देशभर भारी वर्षा भइरहेकाले पहिरो र बाढीको जोखिमलाई मध्यनजर गर्दै प्रशासनले रातको समयमा यात्रा नगर्न आग्रह गरेको हो।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्तराज अधिकारीद्वारा जारी सूचना अनुसार असार १६ र १७ गते बेलुका ५ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म कान्ति लोकपथ हुँदै कुनै पनि प्रकारका सवारी साधन नलगाउन र यात्रा नगर्न भनिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सतर्कता सम्बन्धी सूचनालाई आधार मान्दै प्रशासनले यो कदम चालेको हो। असार १६ र १७ गते देशका विभिन्न भागमा भारीदेखि अतिभारी वर्षा हुने, पहाडी तथा हिमाली क्षेत्रमा पहिरो, सडक अवरोध, गेग्रान बहाव, बाढी तथा नदीमा जलसतह बढ्ने सम्भावना रहेको प्राधिकरणले जनाएको छ।

प्रशासनले विपद्को समयमा हुनसक्ने मानवीय क्षति रोक्नका लागि ताल, नदी, खोला तथा अन्य जलाशयहरूमा माछा मार्न, पौडी खेल्न, डुङ्गा सञ्चालन गर्न र नदी तर्न पूर्ण रूपमा रोक लगाएको छ। पहिरो, बाढी तथा डुबानको जोखिम रहेका भिरालो स्थान र नदी किनारमा अनावश्यक आवतजावत नगर्न र विशेष सतर्कता अपनाउन सूचनामा भनिएको छ।

मौसम तथा सडकको अवस्थासम्बन्धी आधिकारिक सूचना तथा सुरक्षा निकायबाट जारी हुने निर्देशनको पालना गर्न तथा सुरक्षित भएपछि मात्र यात्रा गर्न तथा कुनै विपद्जन्य घटना वा आपत्कालीन अवस्था सिर्जना भएमा तत्काल नजिकको सुरक्षा निकाय, स्थानीय तह वा जिल्ला प्रशासन कार्यालयमा रहेको आपतकालीन कार्य सञ्चालन केन्द्रको निशुल्क फोन नं ११४९ मा जानकारी गराउन पनि अनुरोध गरिएको छ।

वर्षात्को समयमा जोखिमको अवस्था हेरी जिल्लाभित्रका जुनसुकै सडकमा सुरक्षाकर्मीले निश्चित समयका लागि आवतजावत रोक्न सक्ने भएकाले, सो कार्यमा सुरक्षा निकायलाई पूर्ण सहयोग र समन्वय गरिदिन पनि प्रशासनले सबैमा आग्रह गरेको छ। 

असार १६, २०८३ मंगलबार १६:४७:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।