सिलिचोङमा पहिरो : स्वास्थ्य केन्द्रसहित २८ घर विस्थापित, दुई लघुजलविद्युत् र विद्यालयमा क्षति

सिलिचोङमा पहिरो : स्वास्थ्य केन्द्रसहित २८ घर विस्थापित, दुई लघुजलविद्युत् र विद्यालयमा क्षति

सङ्खुवासभा : अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ तेन्छोङमा एक सामुदायिक स्वास्थ्य केन्द्रसहित २८ घरपरिवार पूर्ण रूपमा विस्थापित भएका छन्। 

तल्लो र माथिल्लो तेन्छोङ क्षेत्रमा पहिरोको जोखिम बढेपछि स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ।

बस्तीमाथिको जमिन चिरा परेर पहिरो खस्न थालेपछि स्थानीय सिसुवा प्रहरी चौकी र गाउँपालिकाको सक्रियतामा प्रभावितहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो।

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका अनुसार पहिरोका कारण तेन्छोङको सामुदायिक स्वास्थ्यचौकी समेत उच्च जोखिममा परेको छ। पहिरोबाट विस्थापित हुनेहरूमा तल्लो तेन्छोङका मनकुमार राई, नौबहादुर राई, मनबहादुर राई, धानराम राई, तिलकप्रसाद राई, नरेश कुलुङ, योगेन्द्र राई, विजय राई, मणिधन राई, सन्तोष राई, नन्दु राई, धनबहादुर राई, कल्पना राई, आश्रम राई, प्रविसुक राई, अग्रज राई, पूर्णमान राई, फगेन्द्र राई, बाबुराम राई र विन्दुर राईको परिवार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए।

त्यसैगरी, सिलिचोङ–१ मा रहेको कुन्ती राईको पाँच, धनपूर्ण राईको सात, मङ्गलबहादुर राईको छ, सुकप्रसाद राईको चार, मीरा राईको पाँच, धनमान राईको तीन, परिवार विस्थापित भएका छन्। हाल विस्थापित स्थानीयवासीहरू आफन्तकोमा आश्रय लिएर बसिरहेका छन्।

सिलिचोङस्थित दुईवटा जलविद्युत् आयोजना क्षति पुग्दा गाउँका ६०० भन्दा बढी घरपरिवार अन्धकारमा बस्न बाध्य छन्। सिसुवामा ६० किलोवाटको सिसुवाखोला लघुजलविद्युत र ३० किलोवाटको चटेक्मा लघुजलविद्युत आयोजनामा क्षति पुगेको गाउँपालिका अध्यक्ष मेवाहाङले बताए। 

यस्तै, सिसुवाखोलामा आएको बाढीले स्थानीय दुईवटा विद्यालयमा समेत क्षति पुर्याएपछि पठनपाठन पूर्ण रूपमा बन्द भएको गाउँपालिका अध्यक्ष भूपालराज मेवाहाङले जानकारी दिए।

प्रभावित क्षेत्रमा सोमबार जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाबाट प्रहरी नायब निरीक्षक अनिल भुजेलको नेतृत्वमा १० जनाको टोली घटनास्थल पुगेको छ।

सिलिचोङ गाउँपालिकाले आज एक विज्ञप्ति जारी गर्दै जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित रहन वा आवश्यक परे सुरक्षित स्थानमा जान आग्रह गरेको छ। 

बस्तीको तत्काल अनुगमन, सुरक्षित स्थानमा स्थानान्तरण, राहत वितरण तथा पुनःस्थापनाका लागि कोशी प्रदेश सरकार र सङ्घीय सरकारसँग आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गरिएको गाउँपालिका अध्यक्ष भूपालराज मेवाहाङले बताए। 

असार १६, २०८३ मंगलबार १५:१२:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।