दुई सातामै उठ्यो ४२ करोड बढी बक्यौता, भाडा नतिर्ने ४५ उद्योगको बिजुली काटियो

दुई सातामै उठ्यो ४२ करोड बढी बक्यौता, भाडा नतिर्ने ४५ उद्योगको बिजुली काटियो

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवको निर्देशनपछि वर्षौँदेखि उठ्न नसकेको औद्योगिक क्षेत्रको झन्डै साढे ४२ करोड रुपैयाँ भाडा बक्यौता दुई साताभित्रै असुल भएको छ।

लामो समयदेखि भाडा तिर्न आनाकानी गरिरहेका उद्योग तथा कार्यालयहरूबाट तत्काल रकम उठाउन मन्त्री यादवले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई निर्देशन दिएकी थिइन्। उक्त निर्देशनपछि हालसम्म ४२ करोड ५४ लाख ३८ हजार रुपैयाँ बक्यौता रकम संकलन भएको लिमिटेडले जनाएको छ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक पदम ओलीका अनुसार वि.स. २०४५ सालदेखि नै केहि उद्योगहरुले भाडा बुझाएका थिएनन्। बक्यौता उठाउन केही दिनअघि मात्रै ६३५ उद्योग तथा कार्यालयहरूको नाममा सार्वजनिक सूचना जारी गरिएको थियो। सूचना जारी भएपछि अधिकांश उद्योगहरूले धमाधम आफ्नो बक्यौता चुक्ता गर्न थालेका छन्।

भाडा नतिर्ने ४५ कम्पनीको लाइन काटियो, पूर्ण चुक्ता नभई नजोडिने

मन्त्री यादवले तोकिएको समयभित्र भाडा भुक्तानी नगर्ने उद्योगहरूको विद्युत लाइन काट्न निर्देशन दिएसँगै लिमिटेडले कडा कदम चालेको छ। सुरुमै झन्डै २ सय बढी उघोगको लाइन काटिएको थियो, जसमध्ये भाडा तिरेका उद्योगहरूको लाइन तत्कालै जोडिएको छ।

तर, अझै पनि भाडा तिर्न बाँकी रहेका ४५ वटा कम्पनीहरूको भने विद्युत लाइन काटिएको महाप्रबन्धक ओलीले जानकारी दिइन्। मन्त्री यादवले ती उद्योगहरूले बक्यौता पूर्ण रूपमा चुक्ता नगरेसम्म लाइन नजोड्न स्पष्ट निर्देशन दिएकी छन्।

बक्यौता राख्ने उद्योगहरूमध्ये कन्टिनेन्टल कम्पोनेन्ट एन्ड सर्भिसेजको करिब ३ करोड ६९ लाख रुपैयाँ र सोही सञ्चालकको अर्को कम्पनी कन्टिनेन्टल सर्भिसेजको करिब १ करोड रुपैयाँ भाडा उठ्न बाँकी रहेको छ।

हाल यी दुवै उद्योगको समेत विद्युत लाइन काट्ने प्रक्रिया अघि बढाइएको लिमिटेडले जनाएको छ। भाडा तिर्न आनाकानीदेखि बाह्य दबाबका बाबजुद मन्त्री यादबको स्पष्ट निर्देशनका कारण छोटो समयमै उल्लेखित बक्यौता उठाउन सकिएको लिमिटेडका महाप्रबन्धक ओलीले बताए।

असार १६, २०८३ मंगलबार १३:२१:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।